प्रदेश १

अविश्वासको प्रस्तावबाट विपक्षी गठबन्धन पछि हट्यो, संसद् अधिवेशन कुर्ने

विराटनगर ।

प्रदेश १ मा सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा गठबन्धन भित्रै विवाद सुरु भएको छ। बुधवार विराटनगरमा बसेको गठबन्धनको बैठकले कसको नेतृत्वमा सरकार बनाउने भन्ने बारेमा निर्णय लिन नसक्दा अविश्वासको प्रस्ताव लैजाने बारेमा  निर्णय हुन सकेन ।

दलहरूका बिचमा छलफल भएर पनि अविश्वासको प्रस्ताव लग्ने बारेमा कुरा नमिल्दा विपक्षी  गठबन्धन प्रदेश १का  मुख्यमन्त्री भीम आचार्यलाई अविश्वासको प्रस्ताव लैजानबाट पछि हटेको हो । केन्द्रको स्पष्ट निर्णय नभएको र प्रदेशका गठबन्धनमा पनि सरकारको नेतृत्व कसले लिने भन्ने बारेमा  स्पष्ट नभएका कारण गठबन्धनले २२ गतेको नियमित अधिवेशनसम्म कुर्ने भएको छ ।

गठबन्धनभित्र भएको छलफलमा  अविश्वासको प्रस्ताव दर्ता गराएर विशेष अधिवेशनमा जानु भन्दा नियमित अधिवेशनबाट नै विश्वासको मत लिनुपर्ने भन्ने मत धेरै भएकाले भएपछि अविश्वासको मत ल्याउने सम्भावना कमजोर भएको हो ।

विपक्षी गठबन्धनको बैठकमा कुनै पनि माईन्युट सहितको निर्णय नभए पनि बैठकपछि प्रदेश प्रमुखलाई भेटेर उनीहरूले सरकार गठन र अहिलेसम्म  भएका असंवैधानिक अवस्थाको बारेमा जानकारी गराएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले  नियमित अधिवेशन असोज २२ गतेलाई सरकारले बोलाएकोले विशेष अधिवेशनमा जानु भन्दा त्यसैबाट नै विश्वासको मत मुख्यमन्त्रीले लिनु पर्ने बताए ।

‘विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव ल्याउँदा १५ दिन समय सीमा हुँदा पनि २४ गते पुग्ने अवस्था देखियो, आङ्बोले मकालु खबरसँग भने, त्यो भन्दा  अगाडि नै २२ गते गते बोलाइएको  अधिवेशनमा त्यसै दिन मुख्यमन्त्री ज्यूले विश्वासको मत लिनुहोस् भन्ने हाम्रो कुरा हो ।’

बैठकपछि प्रदेश प्रमुखलाई भेटेर   संविधानको धारा १६८ (१) मा टेकेर मुख्यमन्त्रीमा भीम आचार्यलाई नियुक्ति गरेर  संवैधानिक रूपमा त्रुटि गरेको भन्ने बारेमा ध्यानाकर्षण गराइएको पनि उनले बताए ।

‘हाम्रो प्रदेश प्रदेश प्रमुख ज्युसँग मुख्य ३ वटा विषयमा छलफल भएको छ, उनले भने, मुख्यमन्त्रीको असंवैधानिक नियुक्ति, मुख्यमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने वातावरण बनाउन र २२ गते नै विश्वासको मत लिने व्यवस्था  मिलाउन ध्यानाकर्षण गराइएको छ ।’

नेपालको संविधानले अब मुख्यमन्त्रीलाई नचिन्ने भएकोले  विपक्षी गठबन्धनमा रहेका ५ वटा पार्टीका ५० जना सांसदको प्रतिनिधित्व गर्नेगरि उपस्थित भएर प्रदेश प्रमुखको ध्यानाकर्षण गराइएको उनले बताए ।

विपक्षी गठबन्धनमा रहेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले  तत्काल अविश्वासको प्रस्ताव नआउने बताइन्  । २२ गतेको संसद् अधिवेशनबाट नै मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्नेमा उनले जोड दिइन् ।

प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धनले यस अघि नै अविश्वासको प्रस्ताव ल्याउने भन्दै आएका थिए । अविश्वासको प्रस्ताव ल्याउने बारेमा दलहरूका बिचमा बैठक नै बस्न नसकेपछि सरकारले आव्हान गरेको संसद् अधिवेशनको मितिसम्म कुर्ने मनस्थितिमा दलहरू पुगेका हुन् ।

८ गतेसम्म प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत नलिए अविश्वासको प्रस्ताव ल्याउने दाबी गर्दै आएको नेकपा माओवादीलाई विपक्षी गठबन्धन भित्रैका अन्य दलहरूले साथ नदिएको एक नेताले बताए । विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउन नसकेपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई भेटेका हुन् ।

भेटमा प्रदेश प्रमुख अधिकारीले संविधान, प्रचलित कानुन र प्रजातान्त्रिक अभ्यासअनुसार प्रदेश सरकारलाई अगाडि बढ्न ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *