सर्वदलीय बैठकपछि कार्कीले भने- ‘एमाले संवादबाट भाग्यो’

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने बहिष्कार गरेको थियो । अवैध पार्टी सहभागी गराइएको कुनै पनि बैठकमा सहभागी नहुने भन्दै एमालेले आजको बैठक पनि बहिष्कार गरेको हो, यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत एमालेले बहिष्कार गरेको थियो ।

बैठकले एमाले संवादबाट भागेको आरोप लगाएको सरकारका प्रवक्तासमेत रहेका कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै कार्कीले भने, ‘एमाले संवाद र वार्ताबाट भाग्यो । यसरी गतिरोध अन्त्य हुँदैन । संवाद र वार्ता गर्नुपर्यो र मात्रै सबैखाले गतिरोध अन्त्य हुन्छ । संसद् पनि चलायमान हुन्छ ।’

आजको बैठकमा समग्रमा संसद्लाई कसरी अझै चलायमान बनाउने भन्नेबारे नै छलफल भएको कार्कीले जानकारी गराए । भने— ‘बैठकमा समीक्षा गर्दै अब कसरी अगाडि जाने भन्नेबारे नै कुराकानी भयो । त्यहाँ सबै दलका नेताहरूले आ–आफ्नो कुराहरू राख्दै अब कसरी जाने भन्नेबारेमा बताउनुभयो ।’

यस्तै बैठकले प्रतिपक्षी एमालेका नेता केपी शर्मा ओलीलाई संसद् सञ्चालनमा सहयोग गर्नसमेत आह्वान गरेको छ । ‘बैठकले खासगरी प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई संसद् सञ्चालनका लागि आग्रह गरेको छ,’ कार्कीले भने, ‘आशा छ उहाँहरूले जनताका समस्याको समाधान संसद्लाई गर्ने मौका दिनुहुन्छ ।’

एमालेले गत भदौ २३ यता चलेको सबै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । खासगरी एमाले फुटेर बनेको एकीकृत समाजवादीलाई प्रवेश गर्न नदिनुपर्ने अडान राख्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको हो । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले भने, ‘अवैध पार्टी सहभागी भएको बैठकमा एमाले कहीँ पनि जाँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *