अब मास्कबिना गाडी चढ्न नपाइने
काठमाडौँ । अब मास्क नलगाउने यात्रुले सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि लागू हुने गरी उक्त नयाँ नियम लागू गरेको हो । यस्तै सवारी साधनमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने पनि प्रशासनले उल्लेख गरेको छ ।
त्यस्तै‚ चालक र सहचालकले अनिवार्य मास्क‚ भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, अनिवार्य रूपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्नेलगायतका नियम पनि लागू पालना गर्नुपर्नेछ ।
कोरोना महामारीको जोखिम कायमै रहेकाले भिडभाडजन्य क्रियाकलाप नगर्न पनि प्रशासनले आग्रह गरेको छ । बैठक, गोष्ठी, सेमीनारहरू सकेसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्न अनुरोध गर्दै गर्नैपर्ने अनिवार्य भए स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न पनि प्रशासन कार्यालयले अनुरोध गरेको छ ।