प्रचण्डलाई सुझाव- ‘पार्टीलाई ६४ सालमा फर्काउन तपाईं हामीतिर फर्किनुस्’

‘बेपत्ताहरूको आवाज कुन सरकारले सुन्ने ?’

काठमाडौँ । सशस्त्र विद्रोह गरेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत असोज ७ गते काभ्रे पुगेर भने— ‘अब पुनः पार्टीलाई ०६४ तिर फर्काउनुपर्ने भएको छ । यसका लागि आवश्यक तयारी थाल्नुपर्ने भयो । जनतालाई तयार बनाउनुपर्ने भयो । यो आवश्यकता देखियो ।’

पछिल्लो समय प्रचण्डले आउँदो चुनावमा माओवादी केन्द्र देशको पहिलो शक्ति बन्ने दाबी गर्दै आएका छन् । सँगै प्रचण्डले माओवादीले ०६४ को जस्तै सबैभन्दा धेरै सिट जित्नुपर्ने जिकिर गर्दै आएका छन् । त्यसका लागि आफूपछिका नेताहरूले असहयोग गरेको भन्दै प्रचण्डले घरीघरी पार्टी नै विघटन गर्नेसम्मको धम्कीसमेत दिँदै आएका छन् ।

त्यसो त प्रचण्डमाथि मााओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको समयताकाका शहीद तथा बेपत्ताहरूको उपहास गरेको आरोपसमेत लाग्दै आएको छ । यद्यपि प्रचण्डले पछिल्लो सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रमअन्तर्गत नै शहीद तथा बेपत्ता परिवारहरूको सम्बोधन गर्न खोजेको दाबी भने गर्न छोडेका छैनन् ।

000

यसैबीच बिहीबार (आज) काठमाडौँमा अनेरास्ववियू (क्रान्तिकारी) को २२औं सम्मेलनमा शहीद तथा बेपत्ता पारिवारका सदस्यहरूसँग प्रचण्डको जम्काभेट भयो । कार्यक्रममा जम्माजम्मी एक सयको संख्यामा शहीद तथा बेपत्ता परिवारहरूको सहभागिता थियो । त्यसबीचबाट दुईजनाले आफ्नो भनाइ राखेका थिए ।

‘पार्टी ६४ मा फर्काउन तपाईं हामीतिर फर्किनुस्’

शहीद परिवारको प्रतिनिधित्व गर्दै प्रचण्डका अगाडि मन्तव्य दिएका प्रतीक कार्कीले भने, ‘हामीलाई सधैं दयाभावले हेरियो । यसैले हामीलाई माथि उठ्न दिएन । त्यो भयो, भयो । अब छोडिदिनुस् । हामीलाई जिम्मेवारी चाहियो । दया र माया होइन ।’

पार्टीलाई ०६४ सालमा फर्काउन चुनबाङ जानुस् ।

विसं ०५९ सालमा प्रतीकका बुबा दिलकाजी कार्की ‘अर्जुन’ र आमा इन्दिरा कार्की ‘हिमानी’ मारिएका थिए ।

आफू ४ वर्षको हुँदा आफूलाई बुबा–आमाले छाडेको स्मरण गर्दै प्रतीकले भने, ‘हाम्रो भएपनि नभएपनि यही पार्टी हो । मेरो हजुरआमालाई अब त्यही पार्टीले हेर्छ भन्ने धेरैजना आए । तर त्यो भनाइमै मात्रै भयो, वास्तविकतामा भएन ।’

प्रचण्डले पार्टीलाई पुनः ६४ सालमा फर्काउन चाहेको बताएको भाषण आफूले सुनेको उल्लेख गर्दै प्रतीकले भने, ‘तपाईंको काभ्रेको भाषण सुनेँ । यदि पार्टीलाई ६४ सालमा फर्काउन चाहनुहुन्छ भने पहिले तपाईं हामीतिर फर्किनुस्, शहीद तथा बेपत्ताहरूतिर फर्किनुस् । थवाङ जानुस्, चुनबाङ जानुस् । यहाँ काठमाडौँमै मात्रै बसेर पार्टीलाई ६४ मा फर्किँदैन । यहाँ सीमित नेताहरूको घेरामा बसेर पार्टी ६४ फर्किँदैन ।’

‘बेपत्ताहरूको आवाज कुन सरकारले सुन्ने ?’

बेपत्ता परिवारहरूको प्रतिनिधित्व गर्दै बोलेकी नग्मा मालीले भनिन्, ‘नेतृत्वले शहीद तथा बेपत्ताहरूको आवाज नै सुनेन । कहिले सुन्ने ? कुन सरकारले सुन्ने ?’

नग्माका बुबा नन्दगोपाल माली भैरवनाथ गणबाट बेपत्ता भएका छन् । आफ्नो हजुरआमाले बुबालाई भैरवनाथ गणदेखि दर्जनौं कार्यालयहरूमा खोजेको सुनाउँदै नग्माले सोधिन्, ‘मेरो बुबा कहाँ हुनुहुन्छ ?’

नग्माले थपिन्, ‘मेरो बुबा तपाईं (प्रचण्ड) को विचार र क्रान्तिकारी भाषण सुनेर मात्रै युद्धमा होमिनुभएको थियो । तर तपाईंसँग हात पनि मिलाउन नपाएरै उहाँ बेपत्ता हुनुभयो । अब बुबा त फर्किनुहुन्न होला । तर, हाम्रो उचित व्यवस्थापन होस् भन्ने हामी चाहन्छौँ ।’

अहिले प्रचण्डकै सरकारले शहीद तथा बेपत्ताहरूको समस्याको सम्बोधन गर्न नसकेको नग्माको भनाइ थियो । ‘शहीद तथा बेपत्ताहरूको सन्ततिको आवाजको सम्बोधन कहिले ?,’ नग्माको प्रश्न गरिन् ।

प्रचण्डले के भने ?

प्रतीक र नग्माको बोली सुनेर टोलाइरहेका प्रचण्डले अन्तमा सम्बोधन गर्न छुटाएनन् । प्रतीक र नग्माको नामै लिँदै उनले भने, ‘मैले रञ्जितलाई बालाएर भनिसकेको छु, उहाँहरूलाई चाहिँ दह्रो जिम्मेवारी चाहियो है भनेर ।’

आफू पहिलोपटक प्रधानमन्त्री बनेको बेलामा शहीद तथा बेपत्ता परिवारहरूको बारेमा धेरै काम गर्न खोजेको स्मरण गर्दै प्रचण्डले थपे, ‘काम गर्छु भन्दाभन्दै सरकारबाट हट्नुपर्ने बेला आएछ । त्यसले गर्दा काम गर्न सकिएन । तै पनि केही प्रतिवेदनहरू थिए । ती रिपोर्टहरू कहाँ फालिएका छन्, फेरि खोज्नु छ । फेरि खोज्दैछौँ । फेरि टिप्दैछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *