वैदेशिक रोजगारीमा महिला: जता गए नि छोड्दैन दुःखले
काठमाडौँमा साँझपख फुटपाथमा कपडा बेच्ने गीता कटुवालको व्यापार राम्रै थियो । कमाएको पैसाले घर व्यवहार चलाउन पुग्थ्यो । बिहान मन्दिर क्षेत्रमा फूल बेचेको कमाइले थप भरथेग हुन्थ्यो । बिहान-बेलुका काममा व्यस्त हुने गीता दिनभरि छोराछोरीसँगै बस्थिन् ।
२०७६ सालको भदौमा फुटपाथमा बेच्न राखेको कपडा महानगरपालिकाका नगर प्रहरीले उठाएर लगे । आफ्ना सामान खोज्न उनी दुई महिनाजति महानगरको कार्यालय धाइन् । एकजनाले आफू महानगरपालिकाको कर्मचारी भएकाले सामान छुटाइदिन्छु भने । तिनलाई खाजा खुवाउनमात्र गीताले पाँच हजार जति खर्च गरिन् ।
फेरि भेटिए अर्का एकजना जान्नेसुन्ने व्यक्ति‚ जसले सुझाए ‘वडा कार्यालयको सिफारिस ल्याए सामान लान पाइन्छ ।’ गीताले वडा अध्यक्षलाई भेटेर सिफारिस बनाइन् । सिफारिस लिएर जाँदा महानगरपालिकाले सामान लिलामी गरिसकेको बतायो । गीता निराश भइन् । ‘मेरो ६० हजारभन्दा बढीको सामान थियो । अलि अलि खर्च गरेर पनि छुटेको भए बाँच्ने आधार हुन्थ्यो नि । तर सामान छुटेन ।’, गीताले थपिन्, ‘गाडी भाडा, खाजा खर्चमात्र बढ्यो, मेरो दुःख कसैले देखेन ।’
गीता कटुवालले भन्छिन्‚ ‘कोठा भाडा मात्र एक लाख ५० हजार भएछ । घरधनीले उजुरी दिएपछि हामीलाई प्रहरीले पक्राउ गर्यो, हारगुहार गरेपछि प्रहरीले त छाड्यो‚ तर अझैपनि भाडा तिर्ने र घर व्यवहार चलाउने आधार नै छैन ।’
यसपछि गीताको व्यापार गर्ने आधार टुट्यो । किनभने महानगरपालिकाले सामान उठाउनु अघिल्लो दिनमात्र उनले उधारोमा २५ हजारको सामान ल्याएकी थिइन् । ‘फेरि व्यापार गर्न पैसा कहाँबाट ल्याउनु ?’ गीता भन्छिन्‚ ‘त्यो उधारो अझैसम्म पनि तिर्न सकेको छैन ।’
व्यापारको आधार पनि मासिएपछि उनी रोजगारीका लागि कुवेत जाने भइन् । तीन वर्षको छोरा र ५ वर्षको छोरीलाई श्रीमानसँगै छाडेर उनी त्यही वर्षको फागुनमा भारत हुँदै कुवेतका लागि हिँडिन् ।
कोरोनाका कारण कुवेतको विमानस्थल बन्द भएपछि उनी श्रीलङ्का विमानस्थलमा नै रोकिइन् । घरेलु कामदारका रूपमा कुवेत हिँडेकी उनीसहित थुप्रै नेपाली श्रीलङ्कामा पक्राउ परे । अनि उनी छ्याङ्ग भइन् कि उनी बिनाभिसा वैदेशिक रोजगारीका लागि गइरहेकी रहिछन् ।
‘पक्राउ परेपछि बल्ल थाहा भयो‚ मेरो राहदानीमा त भिसा नै लागेको रहेनछ‚’ गीता भन्छिन्‚ ‘अगेनाबाट उफ्रिएको माछा भुङ्ग्रोमा परेको भनेजस्तै भयो ।’
सुनौलो भविष्यको कल्पना गर्दै काखे बच्चा छाडेर विदेश हिँडेकी उनी श्रीलङ्काको जेलमा परिन् । जहाँ धरधरि रुनु उनको दिनचर्या जस्तै बन्यो । ‘न भाषा बुझिन्छ‚ न उनीहरूको कुरा । आफ्नो बच्चा सम्झियो, अनि रोयो ।’ गीताले आँखाभरि आँसु बनाएर सुनाइन् ।
करिब एक वर्ष श्रीलङ्काको जेलमा बसेपछि नेपाल सरकारको सहयोगमा उनीसहित ३८ जना महिला २०७७ सालको माघमा नेपाल फर्किए ।
नेपाल फर्किएपछि पनि उनलाई जेलले छाडेन । भन्छिन्‚ ‘कोठा भाडा मात्र एक लाख ५० हजार भएछ । घरधनीले उजुरी दिएपछि हामीलाई प्रहरीले पक्राउ गर्यो, हारगुहार गरेपछि प्रहरीले त छाड्यो‚ तर अझैपनि भाडा तिर्ने र घर व्यवहार चलाउने आधार नै छैन ।’
‘श्रीलङ्काको जेलमा पर्दा अब बाचिँदैन कि जस्तो लाग्थ्यो । भाग्यले बाँचेँ, नेपाल त आइपुगेँ‚ तर अब के खानु, के काम गर्नु, छोराछोरी कसरी हुर्काउनु ?’ गीतालाई आफूसँगै आफ्ना दु:ख पनि नेपाल फर्किएजस्तै लाग्छ ।
०००
दाङकी ४० वर्षीया दुर्गादेवी भण्डारीलाई श्रीमानले छाडेपछि घर व्यवहार चलाउने जिम्मेवारी उनकै काँधमा आयो । दुईजना छोराछोरी छाडेर २०७१ सालमा उनी साउदी अरबका लागि उडिन् । तर उनलाई साउदी हुँदै कुवेत पुर्याइयो । जहाँ‚ उनले पाँच बच्चाको रेखदेख र घरको काम गर्नुपर्ने काम पाइन् । खाने र आराम गर्ने समय नै नहुने त्यो काम उनले २ वर्षसम्म गरिन् । ‘दुई वर्षसम्म त घरको दुःख सम्झिएर सहेर बसेँ‚ तर साह्रै नसकेपछि दुई वर्षमा त्यो घर छाडेर भागेँ‚’ दुर्गाले सुनाइन् ।
दाङकी ४० वर्षीया दुर्गादेवी भण्डारीले पाँच बच्चाको रेखदेख र घरको काम गर्नुपर्ने काम पाइन् । खाने र आराम गर्ने समय नै नहुने त्यो काम उनले २ वर्षसम्म गरिन् । ‘दुई वर्षसम्म त घरको दुःख सम्झिएर सहेर बसेँ‚ तर साह्रै नसकेपछि दुई वर्षमा त्यो घर छाडेर भागेँ‚’ दुर्गाले सुनाइन् ।
उनी दलालमार्फत अर्को घरमा पुगिन् । तर काममा आराम भएन, बरु उनलाई कुट्ने क्रम पनि सुरु भयो । काम गरेको पारिश्रमिक पनि नदिने‚ कुट्ने पनि भएपछि उनी फेरि भागिन् र पुलिसको शरणमा पुगिन् । ६ वर्षसम्म कुवेतमा बिताएकी भण्डारीले पछिल्लो चार वर्ष काम गरेको कुनै पारिश्रमिक नपाएको बताइन् । पारिश्रमिक दाबी गर्न न उनलाई घर थाहा छ‚ न त त्यहाँको कुनै सम्पर्क नम्बर । भण्डारी भन्छिन्‚ ‘सित्तिन भन्ने ठाउँमात्र याद छ । तर प्रहरीले पनि पत्ता लगाउन सकेन ।’
रित्तो हात नेपाल फर्किएकी उनलाई बाँकी जीवनको चिन्ता छ । ‘अब पहिलेको जसरी भारी बोक्न पनि सकिँदैन होला‚’ उनले दुःखी हुँदै सुनाइन् ।
झापाकी भिमामाया श्रेष्ठ तीन वर्षको छोरालाई साथीको घरमा छाडेर रोजगारीका लागि ओमान पुगिन् । साना ठूला गरी पाँचवटा बच्चा हेर्ने र भान्साको काम गर्ने उनको मुख्य जिम्मेवारी थियो । ‘बच्चा सुतेमात्र आफू सुत्न पाइन्थ्यो । तर, आफ्नो जिम्मेवारीको काम अनिवार्य सक्नुपर्थ्यो । कति समय त बच्चा बोकेरै काम गरेँ, खानासमेत राम्रो दिँदैनथ्यो । उनीहरूले खाएपछि बाँकी रहेमात्र खान पाइने’, श्रेष्ठ भन्छिन्, ‘काम पाइन्छ, कमाइ हुन्छ कि भनेर परदेश गएको खानको पनि दुःख पो भयो ।’
तीन वर्ष काम गर्दा पनि तलब नबढेपछि आफ्नो सामान नै छाडेर बङ्गलादेशी साथीको सहयोगमा उनी त्यहाँबाट भागिन् । बाहिर काम र कमाइ राम्रै थियो । तर होटलमा काम गरिरहेका बेला प्रहरीले पक्राउ गर्यो । कागजपत्र पहिले काम गरेकै घरमा छुटेकाले उनलाई अवैध भनेर जेल हालियो । करिब दुई महिना जेल परेपछि उनलाई सरकारले नेपाल ल्याउने भयो ।
‘त्यसबेला मसँग केही थिएन । नाम टिप्न आएको प्रहरीलाई १० रुपैयाँ दिनुपर्ने रहेछ । मसँग नभएकाले जेलमै भेटिएका फिलिपिन्स, भियतनामलगायत देशका महिलाले पैसा उठाएर तिरिदिए ।’ उनले दुखेसो पोखिन्‚ ‘हामीलाई जहाँ पुगेपनि दु:खले नछोड्ने रहेछ । अब विदेश जान मन छैन‚ तर आफ्नै देशमा उपाय नभेटिएपछि विदेश जानुको विकल्प के छ र ?’
०००
काम खोज्दै भारत जान लाग्दा नेपाल-भारत सीमामा रहेको भैरहवा नाकामा प्रहरीको निगरानीमा परेकी नवलपरासीकी २४ वर्षीया प्रगति राउत पनि आफ्नै देशमा काम पाए कतै नजाने बताउँछिन् । सीमाबाट उद्धार गरेपछि जुत्ता बनाउने तालिम लिएकी राउत आफ्नो सीप र क्षमताअनुसारको काम गर्न पाए परिवारसँग नेपालमै बस्ने सोचाइमा छिन् । भन्छिन्‚ ‘६ वर्षको छोरालाई पाल्न/पढाउन केही त गर्नुपर्यो ।’
सरकारले ११० वटा देशका लागि वैदेशिक रोजगारीमा जाने अनुमति दिएको छ । त्यसमध्ये इराक, अफगानिस्तान र लिवियामा नेपालबाट रोजगारीका लागि जान तत्कालका लागि सबैलाई रोक लगाइएको छ । त्यस्तै, साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमान, बहराइन, लेबनान र मलेसिया लगायत देशमा जान महिलालाई रोक लगाएको छ । घरेलु कामदारका रूपमा जाँदा महिला असुरक्षित हुने भन्दै वैध रूपमा जान रोक लगाएपनि तीनै मुलुकमा अवैध रूपमा महिला जाने क्रम भने रोकिएको छैन ।
हुन त सरकारले श्रम स्वीकृति नदिने खाडीका देशहरूमा रोजगारीको सिलसिलामा कति महिला गएका छन् भन्ने कुराको यकिन जानकारी सरकारसँग अहिले पनि छैन । तर कतिपय उद्धार गरिएका महिलाका अनुसार भारतको बाटो हुँदै धेरै महिला खाडीका देश जाने गरेका छन् । यसरी अवैध रूपमा जानेमध्ये केही महिला गन्तव्य मुलुक पुगेपछि र केही बाटोमा नै अलपत्र पर्ने गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमान, बहराइन, लेबनान र मलेसिया लगायत देशमा जान महिलालाई रोक लगाएको छ । घरेलु कामदारका रूपमा जाँदा महिला असुरक्षित हुने भन्दै वैध रूपमा जान रोक लगाएपनि तीनै मुलुकमा अवैध रूपमा महिला जाने क्रम भने रोकिएको छैन ।
नेपाल सरकार तथा विभिन्न सङ्घसंस्थाको पहलमा पछिल्लो १० वर्षमा मात्र १३ हजार ९ सय ४९ जना महिलालाई उद्धार गरिएको छ । यकिन तथ्याङ्क नभएपनि उद्धार गरिएका महिलाको सङ्ख्या बढी भएकाले रोजगारीका लागि विदेशिएका महिला पनि धेरै भएको अनुमान गरिन्छ । यसरी अवैध बाटो हुँदै रोजगारीका लागि खाडी देश जाने महिलाको सङ्ख्या बढेपछि प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक समितिले भदौ ११ गतेको भर्चुअल बैठकमा वैदेशिक रोजगारमा खास गरी खाडी देशमा अवैधानिक रूपमा गएका महिला कामदारहरूको वास्तविक विवरण सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिले महिला कामदारको विषयमा समस्या समाधान हुने गरी काम गर्न, अवैधानिक तवरबाट वैदेशिक श्रमका लागि हुने मानव बेचबिखन तथा तस्करी नियन्त्रण गर्ने कामलाई आगामी दिनमा थप प्रभावकारी बनाई गैरकानूनी क्रियाकलापलाई शून्यमा झार्ने गरी रणनीति बनाउन पनि सुझाव दिएको छ ।
तर सरकारले अहिलेसम्म कति महिला विदेशमा छन् भन्ने विषयमा अध्ययन समेत सुरु गरेको छैन । त्यसैले अवैध बाटो हुँदै कति नेपाली रोजगारीको सिलसिलामा विदेशमा छन् भन्ने यकिन तथ्याङ्क छैन ।
नेपालबाट श्रम स्वीकृति लिएर गत आर्थिक वर्षमा उच्च व्यावसायिक ६ जनासहित ६१ जना महिला रोजगारीका लागि विदेश गएका छन् । एक लाख ६६ हजारभन्दा बढी व्यक्ति रोजगारीका लागि विदेशिएका मध्ये ८० हजार ३ सय ८२ जना नेपाली सीपविहीन अवस्थामा नै विदेश गएका छन् । त्यसमध्ये ५ हजार ७ सय १७ जना महिला छन् । यसरी व्यावसायिक सीप नसिकी विदेश जाने नेपालीले राम्रो काम मात्र नभई गरेको कामको पारिश्रमिक पाउनसमेत गाह्रो पर्ने गरेको अनुभवीहरू बताउँछन् ।
आप्रवासी कामदार महिला समूह आम्कास नेपालका कार्यकारी निर्देशक विजया राई श्रेष्ठ सरकारले नै कतिपय देशमा महिलाका लागि बन्देज गरेपछि लुकिछिपी जाने महिलाले झन् बढी दुःख पाएको बताउँछिन् । महिलाहरू आफूले गर्नुपर्ने कामको प्रकृति र आफ्नो जिम्मेवारीसमेत नबुझी हिँड्ने गरेकाले सम्बन्धित देशमा पुगेपनि राम्रो काम र आम्दानी गर्न नसकेको उनको भनाइ छ ।
विदेशबाट फर्किएका महिलाका लागि निःशुल्क खाने बस्ने सुविधा रहेको अम्कास नेपालमा मासिक सरदर ३५ जना महिला आउने गरेका छन् । यसरी फर्किएका महिलाले कामको प्रकृति, भाषाको साथै सम्बन्धित देशबारे जानकारी नहुँदा बेचबिखनमा पर्नुपरेको समेत बताउने गरेका छन् । उनीहरूले १८ घण्टासम्म काम गर्नुपरेको बताउने गरेका छन् ।
नेपालले एक बर्षभन्दा कम अवधिका लागि श्रम स्वीकृति दिने गरेको छैन । त्यसैले कतिपय नेपाली छोटो अवधिको रोजगारीका लागि पर्यटन भिषामा समेत विदेश जाने गरेका छन् ।
महिला बेचबिखन नियन्त्रणको क्षेत्रमा लामो समयदेखि कार्यरत माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला गरिबीले मात्र नभई देखासीखीका कारण समेत विदेश जाने महिलाको सङ्ख्या बढेको बताउँछिन् । वैदेशिक रोजगारीको स्वरूप बदलिएको भन्दै खुल्ला सीमानामा अनुगमनको पाटोलाई बढाउनुपर्ने उनको सुझाव छ ।
नेपालले एक बर्षभन्दा कम अवधिका लागि श्रम स्वीकृति दिने गरेको छैन । विविध कारणभित्र गुजुल्टिएको वैदेशिक रोजगारीमा महिलाका जटिलता र दुःख समाधान सजिलै हुने छाँटकाँट भने सहजै देखिँदैन ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा भने वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउनुपर्ने बताउँछिन् । नेपालमा मात्र नभई विश्वमा नै लागू औषधपछि सबैभन्दा बढी अपराध मानव बेचबिखनमा हुने गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रमुख (एसएसपी) दुर्गा सिंहले अपराधमा परेको थाहा पाए पनि उजुरी दिने क्रम भने नबढेको बताइन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव यमकुमारी खतिवडाले महिलालाई सकभर नेपालमै रोजगारीको व्यवस्था गर्ने गरी सीपमूलक तालिम आवश्यक रहेको बताइन् । सचिव खतिवडाका अनुसार नेपाल तथा विदेशबाट समेत उद्धार गरेर ल्याएका महिलालाई रोजगारमूलक तालिम दिन थालिएको छ ।
सरकारले विभिन्न स्थानबाट उद्धार गरेका २२ जना महिलालाई जुत्ता सिउने तालिम दिएको र यसलाई निरन्तरता दिँदै अब पालिकासम्म नै रोजगारमूलक तालिमका साथै महिलाको सीप तथा क्षमता विकास गर्ने प्रकारका कार्यक्रमहरू सञ्चालन गर्ने सरकारको तयारी रहेको समेत बताइन् ।
तर विविध कारणभित्र गुजुल्टिएको वैदेशिक रोजगारीमा महिलाका जटिलता र दुःख समाधान सजिलै हुने छाँटकाँट भने सहजै देखिँदैन ।