कांग्रेस महाधिवेशन : यी हुन् विराटनगरको सभापतिका चार आकाङ्क्षी 

विराटनगर । प्रदेश १ को राजधानी तथा कांग्रेसको जग मानिएको विराटनगरमा कांग्रेसको नगर सभापतिको लागि ४ जना सभापतिका लागि आकाङ्क्षी देखिएका छन् । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत शनिबार मोरङमा नगर/गाउँ अधिवेशन हुँदै छ । अधिवेशनमा अहिलेसम्म विराटनगरमा मात्र आकाङ्क्षीको सङ्ख्या ४ जना छ ।

भोलि हुने निर्वाचनको लागि आज मनोनयन दर्ता हुँदै छ । विराटनगर महानगरपालिकाको नगर सभापतिको लागि विराटनगर-२ का दीपक चापागाईँ र अरुण न्यौपाने तथा विराटनगर ५ का सन्तोष न्यौपाने र विराटनगर ३ का कृष्ण कार्की सभापतिको दौडधुपमा छन् । नगर सभापतिको लागि उम्मेदवार बनाउन दलका शीर्ष नेताहरू नै लागेका छन् । आफू अनुकूलमा नेताको संरक्षणमा ४ जना सभापतिका आकाक्षीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

उम्मेदवारमध्ये चापागाईँ र न्यौपानेद्वय विराटनगरमा पुस्तैनी बसोबास गरिरहेका परिवार हो भने कार्की करिब १५/१६ वर्षदेखि विराटनगरमा बसोबास गरिरहेका विद्यार्थी नेता हुन् । दावेदारी प्रस्तुत गरेका चारै जना उम्मेदवार  वडा अधिवेशनबाट  निर्वाचित भएर आएका ६४८ जना प्रतिनिधिले सभापतिको लागि छान्नेछन् । सभापतिको लागि दाबेदारी प्रस्तुत गरेका  चार जना नै अहिले  कार्यकर्ता समक्ष चुनावी प्रचारमा देखिएका छन् ।

यसअघि कांग्रेस महानगरको सभापतिमा भीम पराजुली निर्वाचित भएका थिए । नगर सभापतिमा निर्वाचित भएका व्यक्तिलाई भावी महानगरपालिकाको मेयरको उम्मेदवारको रूपमा हेरिने भएको कारण पनि महानगरमा उम्मेदवारी दिनेहरूको सङ्ख्या धेरै रहेको कांग्रेसका नेताहरू बताउँछन् ।

यसअघि निर्वाचित पराजुलीले मनोज बस्नेत र दीपक चापागाईँलाई पराजित गरेका थिए । उनै पराजुली स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिको मेयरमा विजयी भएका थिए । शेखर कोइराला, महेश आचार्य र मीनेन्द्र रिजालको सहयोगमा उम्मेदवार बनेको दाबी गर्दै आएका  चापागाईँ  आफू निर्वाचित हुने दाबी गर्छन् । कृष्ण प्रसाद सिटौलाको लाइनमा रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आफ्नो उम्मेदवारमा उनी निकटकै अरुण न्यौपानेलाई अगाडि सारेका छन्  ।

मेयर पराजुली चापागाईँ हराऊ अभियानमा समेत लागेका छन् । यसअघि खोप लुकाएर आफू निकटका नेता कार्यकर्तालाई लगाएको आरोप लागेको बेला चापागाईँले त्यसको विरुद्धमा बोलेको भन्दै मेयर त्यसको प्रतिशोध साँध्ने मौकाको रूपमा यो चुनावलाई लिएको दाबी कांग्रेसजनको छ । मेयरले आफू निकटका नेतालाई जिताउनका लागि खोपमा राजनीति गर्दै आएका थिए ।

सभापतिका उम्मेदवार अन्य दुई जना सन्तोष न्यौपाने र कृष्ण कार्की भने आफूहरूलाई सबै नेताले साथ दिने दाबी गर्दै आएका छन् । नेपाली कांग्रेस श्रोतका अनुसार सन्तोष न्यौपानेलाई पार्टी सभापति शेरबहादुर देउवा पक्षीय नेता  अमृत अर्यालको समर्थनमा नगर सभापतिमा उठ्दैछन् । हालसम्म कृष्ण कार्कीलाई माथिल्लो तहका नेताको समर्थन नभएपनि विराटनगरका नेता बाबुराजा ओझाको इसारामा सभापतिमा उम्मेदवारी दिएको कांग्रेस नेताहरू बताउँछन्  । कार्कीले भने आफू साझा उम्मेदवारको रूपमा रहेको दाबी गर्दै आएका छन् ।

विराटनगर कांग्रेसको उपसभापतिका लागि प्रवीण जोशी र नीरज कोइराला, सचिवमा झुमा निरौला र तेजेन्द्र भट्टराई, सहसचिवमा दिवस नेपाल र शिवप्रसाद पोखरेल लगायत उम्मेदवारको आकाङ्क्षी छन् । विराटनगर महानगर समितिका लागि  १ सय बढी बढी आकाङ्क्षी देखिएका छन् । पटक पटक सहमतिको प्रयास गर्दापनि कुनै पनि उम्मेदवार पछि हट्ने सम्भावना नभएपछि सभापतिमा चार जनाले नै उम्मेदवारी दिने सम्भावना देखिएको कांग्रेसका मोरङ सचिव नागेश कोइरालाले बताए । ‘विराटनगर महानगरबाट चार जना आकाङ्क्षी देखिएका छन्,’ उनले भने, ‘अहिलेसम्म सहमतिको लागि कोही तयार देखिएका छैनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *