रहरलाग्दो एमाले बनाउने हो भने…
नेकपा एमालेको जीवनमै पहिलोपटक विधान महाधिवेशन शुरू गरेको छ । आन्तरिक राजनीतिक सङ्कटकै बेला लगभग ६ हजार नेता कार्यकर्ता ललितपुरको गोदावरीमा भेला गराएर दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवाद हुँदै साम्यवादको आधार निर्माण गरौँ’ भन्ने नाराका साथ देशव्यापी रक्तसञ्चार गर्न खोजेको जस्तो भान हुन्छ ।
साँच्चिकै यसो हो भने अर्थात् यो नारालाई सार्थक बनाउने हो भने केही काम गर्नुपर्ने आवश्यकता छ । कुनै पनि कुरा भन्न सहज छ । अझ भाषण गर्न र क्षणिक रोमाञ्चक बनाउन पनि कठिन छैन । तर यसले केही बेर हँसाउला वा थपडी बजाऊँ-बजाऊँ लाग्ला तर, यसले पार्टीको आन्तरिक जीवनमा खास ठूलो फरक पार्दैन । त्यसका लागि नीति सिद्धान्तको बहसले मात्र पनि पुग्दैन । त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता र अठोट अनि धारिलोपना र त्यसैअनुसारको खटाइ जरुरी हुन्छ ।
यदि,
-लोकतान्त्रिक मूल्यमान्यतामा आधारित, समाजवादप्रति प्रतिबद्ध भई समृद्ध राष्ट्र निर्माण गर्ने हो भने,
-वर्तमान दलाल पूजावादी अर्थव्यवस्थामा मजदुर, किसान, शोषित वर्गको उत्थानका निम्ति समाजवादी अर्थव्यवस्थाको आधार तयार गर्ने हो भने,
-असमानता र विषमता, अन्याय, भ्रष्टाचारमुक्त प्रशासन निर्माण गर्ने हो भने,
-साँच्चिकै वर्गीय उत्थान र सर्वहारा वर्गको पार्टी बन्ने हो भने,
-थोत्रा मान्यता कुरीति र अन्धविश्वासमुक्त समाज परिकल्पना गर्ने हो भने,
-भारत र अमेरिकाको विरोध गर्दैमा अनि चन्दा पानी, धुपध्वाँर, हनुमानगिरी, गणेश प्रवृत्ति अपनाउँदा कम्युनिस्ट बनिँदैन भन्ने मान्यता स्थापित गर्ने हो भने,
-राज्यका अङ्गहरूमा सही प्रतिनिधित्व गराउने, मुखले होइन कामले शोषित पीडितका आवाजको सुनुवाइ हुने दल बन्ने हो भने,
-मनि र मसल्सले होइन साँच्चै नागरिकको सेवा गर्ने र उनीहरूप्रति जबाफदेही र जिम्मेवार दल बन्ने हो भने,
शिक्षा स्वास्थ्यलाई मात्र राज्यको दायित्वभित्र राख्ने बित्तिकै एक नम्बरको कम्युनिस्ट भइहालिन्छ भन्ने मान्यतामा सुधारको नीति आओस्
- नेताको शैली, गालीगलौज, गुटगत प्रवृत्तिमा लगाम लगाउने नीति आओस् ।
- पार्टी कार्यकर्तालाई सदस्य हुँ भन्दा लाजमर्दो नहोस्, गर्व गर्ने नीति आओस् ।
- आलिसान गगनचुम्बी महल होइन झुपडीका कार्यकर्ताहरूलाई प्राथमिकतामा पार्ने पाउने नीति आओस् ।
- सम्पत्ति शक्ति, तिघ्रा पाखुरा हेरेर होइन, जो जनतासँग घुलमिल छ, जनताको आँसु, र वेदना बुझ्न सक्छ उ नै उम्मेदवार हुने सार्वजनिक प्रतिबद्धता र लिखित नीति आओस् ।
- जनता इतिहासका निर्माता हुन् अतः आचरण, व्यवहार, संस्कार संस्कृति उनीहरूबाट सिक्ने नीति आओस् ।
- धनी, गरिब, गाउँ सहर, शारीरिक मानसिक श्रममा भेद नहुने नीति आओस् ।
- मेयर, उपमेयर, सांसद, मन्त्रीको सम्पत्ति सार्वजनिक गर्ने कुरालाई छायामा नपारिओस् ।
- लाभका पदमा आसीनहरूबाट निश्चित रकम उनीहरूलाई दिई धेरै प्रतिशत रकम गरिब वर्गको लागि पार्टीले असुल्ने नीति आओस् ।
- एउटै पदमा पदासीन हुने प्रचलन हटाउने नीति आओस् ।
- गरिब, निमुखा, अल्पसङ्ख्यक, एकल महिला, अपाङ्गता भएका कार्यकर्ताका निम्ति राहतकाेषको व्यवस्था गर्ने नीति आओस् ।
- पद, प्रतिष्ठा लोभ लालचको चरमोत्कर्षलाई निर्मलीकरणको मापदण्ड र नीति आओस् ।
- पार्टीसँग नागरिक कि मोर्चासँग नागरिक वा व्यक्ति बोल्ने कि पार्टी बोल्ने, स्पष्ट नीति आओस् ।
- राजनीतिज्ञ हुँदै राजनीति नै बदनाम नहुने नीति आओस् ।
- राजनीतिमा लाग्नु अन्य विकल्पहरू सकिएपछि होइन अन्य विकल्प छोडेर राजनीतिमा लागौँ लागौँ लाग्ने योजना आओस् ।
- वर्ग सङ्घर्ष र सर्वहारा बलशाली बन्ने नीति आओस् ।
- पार्टी, जन सङ्गठनमा आन्तरिक प्रतिस्पर्धामा पैसा, बाहुबल भन्दा योग्यता योगदानको कदर हुने नीति आओस् ।
- नेतृत्व विकास र हस्तान्तरण पुस्तान्तरणको नीति आओस् ।
- सर्वहारा वर्गको अधिनायकत्व यो आदर्शवादी मन्त्र होइन, यो क्रियान्वयनको नीति आवास ।
- आलोचना आत्मालोचना मृत अवस्थामा छ, पुनर्जीवनको नीति आओस् ।
- पैसाले पद, पदले पैसा अनि गुटको बलमा अराजकता, अराजकताले बिचार सिद्धान्त, संस्कार र अनुशासनभन्दा मोनी मस्सललाइ प्रश्रय दिएकाले पार्टीले नियमित प्रशिक्षण तालिकाको नीति आओस् ।
- नेताहरू कुन र कसको खर्चले चल्छन् भन्ने प्रश्न एक कटु सत्य बन्दै गएको सन्दर्भमा नेताको इलम उद्यम वा आय आर्जनको बाटो सबैले थाहा पाउने गरी पारदर्शी बनाउने घोषणा र नीति आओस् ।
अनि बल्ल अरू पार्टीभन्दा भिन्न र रहरलाग्दो एमाले बन्न सक्नेछ । नत्र अरू जस्तै बन्ने हो भने एमाले भन्ने दल किन चाहियो ? भन्ने आम नागरिक र मतदाताले सोध्ने प्रश्नको जवाफ दिन सकिने भएर गाउँ गाउँमा पुग्ने हो भने एमाले नम्बर वन भइरहन सक्छ । प्रथम विधान महाधिवेशन अनि मात्र ऐतिहासिक बन्ला, बनोस् । शुभकामना ।
–अधिकारी नेकपा (एमाले) तेह्रथुमका सचिवालय सदस्य हुन् ।