साफ च्याम्पियनसिप

नेपालले पाएको तीन अङ्कको अर्थ

काठमाडौँ । साफ च्याम्पियनसिपको १३ औँ संस्करणमा नेपालले शुक्रबार स्कोर गर्‍यो । अर्थात् फुटबलमा जित हारको अर्थ गोल स्कोरमा हुन्छ। ठ्याकै त्यस्तै अधिकांश समय घरेलु टोली माल्दिभ्सले नेपाललाई दबाबमा राख्यो । गोलका अनेकन अवसर चुकायो । उसका उत्कृष्ट प्रहारमा सधैँ जस्तै कप्तान किरण चेम्जोङ पर्खाल बनी दिए ।

तर नेपाल भने फरक थियो । जोगिन निरन्तर प्रयासमा रह्यो पहिलो हाफमा तर दोस्रो हाफमा नेपालले केही लय समात्यो र आक्रमणका प्रयास गर्‍यो । केही सीमित र फितला प्रहार माल्दिभ्सका लागि सहज भए । तर दोस्रो हाफमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेको मनिष डाँगीले खेल सकिन केही मिनेट बाँकी छँदा जे गरे त्यसले नेपाली फुटबलको पुरानो कालखण्डको सम्झना गरायो ।

अर्थात् २२ वर्षपछि नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वी माल्दिभ्सलाई उसकै मैदानमा हरायो । मनिषको त्यहाँ केवल गोल मात्र थिएन उनको मिहिनेत साँच्चिकै लोभलाग्दो थियो । दुई खेलाडीलाई बिट गर्दै तीव्र गतिमा बल दौडाएर सोही गतिमा गरेको प्रहारले जाली चुम्यो । यी युवा स्टारले आफ्नो फुटबल करिअरमा बलियो सम्भावना छोडे साथमा माल्दिभ्सँग तीन अङ्क लिए त्यो पनि प्रतीक्षित साफ च्याम्पियनसिपमा ।

याे पनि : २२ वर्षपछि माल्दिभ्समाथि नेपालको जित (तस्बिरहरू)

माल्दिभ्ससँग नेपाल कम्तीमा जोगिन चाहन्थ्यो। जब माल्दिभ्सँग तीन अङ्क नेपालले प्राप्त गर्‍यो यो लिगमा यसको अर्थ अभुतपूर्व छ । अहिले नै भनिहाल्न हतार होला तर कम्तीमा अब बङ्गलादेशसँग जोगिएर श्रीलङ्कालाई पराजित गरे नेपालको फाइनल यात्रा बलियो हुने छ । अर्थात् यो जितलनेपाललाई फाइनलको ढोका खोल्ने  कोसेढुङ्गा हो । यदि तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वीसँग अनपेक्षित नतिजा नआए यो पटक नेपाललाई फाइनल पुग्नबाट रोक्न अब कठिन हुने छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भने जस्तै माल्दिभ्स सँगको जित ऐतिहासिक छ । यो जित साँच्चिकै दुर्लभ यो अर्थमा छ कि किनकि हामीले उसकै मैदानमा हजारौँ दर्शकलाई चुप गराएका छौँ । त्यसैले हामीले यो खुसी जति सेलिब्रेसन गरे पनि हुन्छ । तर हाम्रो लक्ष्य अझै बाँकी छ र खुसीका बाबजुद हामी शान्त रहनु पर्छ । यो नतिजा बिर्सिएर बाँकी खेललाई पहिलो खेल सम्झिएर र अन्तिम खेल हुन सक्ने ठानेर प्रतिस्पर्धा गर्नु पर्छ जसले हाम्रो साफ च्याम्पियनसिपको पहिलो भोक अन्त गरोस् ।

माल्दिभ्स विरुद्धको जितले समग्र दक्षिण एसियाली टिमलाई नेपालले पुन एक पटक धक्का पक्कै दिएको छ । नेपालले जस्तै पहिलो दिन बङ्गलादेशले पनि श्रीलङ्कालाई हराएर ३ अङ्क हासिल गरेको छ । त्यसैले नेपालका लागि अब बङ्गलादेश विरुद्धको खेल थप अर्थपूर्ण हुने छ । किनकि नेपालले बङ्गलादेशलाई पराजित गर्न सके इतिहास बनाउने बाटोमा नेपाल निर्विकल्प रूपमा अघि बढ्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *