मन्त्री र विद्यार्थी नेतृत्व टुङ्ग्याउन माओवादी बैठक जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा दिउँसो ३ बजेबाट शुरू भएको बैठकमा समसामयिक राजनीतिक विषयसँगै सरकारमा जाने नेताहरूको नामबारे छलफल भइरहेको छ ।

यस्तै बैठकले विद्यार्थीको नेतृत्वको समेत टुङ्गो लगाउने एक नेताले बताए । ‘सरकारमा जाने कमरेडहरूको नामबारे पनि छलफल होला,’ ती नेताले भने, ‘सँगै अन्य सबै विषयमा आज छलफल हुनेछ । यस्तै विद्यार्थी नेतृत्वको बारेमा पनि छलफल होला ।’

झन्डै तीन महिना बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । माओवादी पनि सत्तासाझेदारी दल हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत असोज ५ गतेभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए पनि अझैसम्म विस्तार हुन सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले थप विस्तारका लागि सत्तासाझेदारी दलहरूसँग मन्त्रीको नाम मागेका छन् । तर, दलहरूले मन्त्रीको नाम टुङ्ग्याउन सकेका छैनन् । आन्तरिक राजनीतिक खिचातानीका कारण मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै सरकारको आलोचनासमेत शुरू भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *