पुरुष क्लब भलिबलमा आर्मी च्याम्पियन


काठमाडौँ । छैटौँ एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिवार (आज) भएको फाइनलमा साबिक विजेता हेल्प नेपाललाई ३-१ को सेटमा पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।
आर्मीले पहिलो सेट २६-२४ ले जितेको पनि हेल्पले दोस्रो सेट २५-१७ ले जितेपछि खेल थप रोमाञ्चक बनेको थियो । तर आर्मीले तेस्रो सेट २५-१८ ले आफ्नो बनायो । चाैथाे सेटमा ३३-३१ को कठिन जित निकाल्दै आर्मीले उपाधि चुमेको हो । नेपाल पुलिस क्लबले तेस्रो भयो ।
महिलातर्फको उपाधि न्यु डायमन्ड क्लबले उचालेको छ । नेपाल एपीएफ क्लब दोस्रो भयो । दुवै प्रतिस्पर्धाको विजेताले चार/चार लाख रुपैयाँ पाए भने उपविजेताले दुई दुई र तेस्रो हुनेले एक/एक लाख रुपैयाँ पाए ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
