कांग्रेस महाधिवेशन : मोरङमा देउवा कमजोर, विराटनगरमा चापागाईँ विजयी 

विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मोरङमा सम्पन्न गाउँ/नगरको अधिवेशनमा पौडेल-कोइराला पक्ष बलियो देखिएको छ । पौडेल-कोइराला समूहले विराटनगर महानगरपालिका सहित १२ र देउवा समूह ५ वटा स्थानीय तहमा विजयी भएको छ ।

विराटनगर महानगरको सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मत अन्तरले पराजित गर्दै चापागाईँ सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा निर्वाचित चापागाईँ डा. शेखर कोइराला निकट हुन । उनले देउवा पक्ष निकटका न्यौपानेलाई पराजित गरेका हुन् ।

आइतबार बिहान घोषित अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा कोइराला समूहबाट इन्दु सुवेदी खतिवडा र नीरज कोइराला, सचिवमा संस्थापनकी झुमा निरौला र कोइराला समूहका तेजिन्द्र भट्टराई, सहसचिवमा कोइराला समूहका दिवस नेपाल र सचिन पोखरेल संस्थापन समूहबाट निर्वाचित भएका हुन् । महानगर अधिवेशनमा ६८१ मतदाता मध्ये ६६४ जनाले मतदान गरेका थिए ।

प्रदेश १ को एक मात्र महानगरको नेतृत्वको लागि देउवा र कोइराला समूहले प्रतिष्ठाका रूपमा लिएका थिए । एक महानगर र दुई उपमहानगर धरान र इटहरीमा संस्थापन इतर समूह नेतृत्वमा पुगेको छ ।

मोरङका १७ वटा स्थानीय तहमध्ये तीन वटामा शुक्रबार र एउटामा शनिबार सर्वसम्मत भएको थियो । नयाँ नेतृत्व चयनका लागि १३ वटा स्थानीय तहमा शनिबार मतदान भएको थिए । मिक्लाजुङमा बबि राई निर्वाचित भएका छन् ।  निर्वाचित राई पौडेल समूहका हुन । कटहरी पौडेल समूहका रामकुमार कामत ८३ मत प्राप्त गरी विजयी भएका छन् ।

धनपालथानमा देउवा समूहका दीपकवीर पाण्डे सभापतिमा निर्वाचित भएका छन् । पाण्डेले ८३ मत प्राप्त गरे । बेलबारी नगरपालिकाको नगर सभापतिमा पौड समूहका छत्र लिम्बु १३६ मत प्राप्त गरी विजय भएका छन् । कानेपोखरीमा पौडेल समूहका योगेन्द्र दाहाल ७३ मत प्राप्त गरी विजयी भएका छन् । सुनवर्षी नगरपालिकामा कमल किशोर गनगाई निर्वाचित भएका छन् । उनले १०५ मत ल्याए ।सभापतिमा निर्वाचित गनगाई देउवा समूहका हुन ।

पथरीशनिश्चरेमा रूपनारायण भट्टराई निर्वाचित भएका छन् । उनले ८२ मत प्राप्त गरे । भापतिमा निर्वाचित भट्टराई पौडेल समूहका हुन । रंगेलीमा २ मत अन्तरले जगरनाथ मण्डल निर्वाचित भएका छन् । उनले १०६ ल्याए । उनका प्रतिस्पर्धी जितनारायण खवासले १०४ मत ल्याए । रंगेलीमा सभापतिमा दुवै उम्मेदवार देउवा समूहका थिए ।

सुन्दरहरैचामा पौडेल-कोइराला पक्षका भक्तिप्रसाद सिटौला निर्वाचित भएका छन् । उनले देउवा समूहका महेन्द्र धिमाललाई १०२ मत अन्तरले पराजित गरे । लेटाङमा दीपकचन्द्र राई निर्वाचित भएका छन् । उनले ६० मत प्राप्त गरे ।  सभापतिमा निर्वाचित राई पौडेल समूहका हुन् ।

ग्रामथानमा तुलसी (किरण) विश्वास निर्वाचित भएका छन् । उनले ९३ मत प्राप्त गरे ।  सभापतिमा निर्वाचित विश्वास देउवा समूहका हुन् । बूढीगंगामा जितनारायण थापा ७६ मत ल्याएर विजयी भएका छन् । उनी पौडेल निकट हुन् । उनका निकटतम प्रतिस्पर्धी रेवतीनारायण चौधरीले ५४ मत ल्याए ।

यसअघि शुक्रबार जहदामा महेन्द्र मण्डल, उर्लाबारीमा सुरेन्द्र लिम्बु र केराबारीमा सभापतिमा प्रकाश बस्नेत निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध निर्वाचित मण्डल देउवा, लिम्बु र बस्नेत पौडेल समूहका हुन् । शनिवार सर्वसम्मत भएको रतुवामाईको सभापतिमा पोष्टबहादुर बस्नेत निर्विरोध भएका थिए । उनी पौडेल-कोइराला निकटका नेता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *