कांग्रेसको काठमाडौं महानगर सभापतिमा शाक्य विजयी

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । कांग्रेस काठमाडौँ महानगरपालिकाको आइतबार  भएको निर्वाचन मतगणनाअनुसार शाक्यले ७८६ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए । नेपाल तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शाक्य विसं २०७४ मा सम्पन्न काठमाडौँ महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्षसमेत हुन् ।

यस्तै दुई उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, दुई सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, दुई सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत केसीले बताए । लामो समयपछि भएको काठमाडौँ महानगरपालिकाको निर्वाचनमा १ हजार ३३९ मत खसेको थियो । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म काठमाडौँको मतदान भएको थियो ।

काठमाडौँ महानगरपालिका देशभरिकै जनसङ्ख्याका दृष्टिकोणले सबैभन्दा ठूलो नगरपालिका हो । यस नगरपालिकामा ३२ वडा रहेका छन् ।
यसअघि काठमाडौँको सात नगरपालिका निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने दक्षिणकाली नगरपालिकामा वडा नं २ को अधिवेशन गर्न नसकेर पालिका अधिवेशन हुन नसकेको काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिए । दक्षिणकाली नगरपालिकाको पनि दसैँअघि निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन समिति अगाडि बढिरहेको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *