नेतृत्व नेताको पोल्टाबाट राष्ट्रिय सम्मेलन नौटङ्की मात्रै ?
काठमाडौँ । माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलन काठमाडौँमा चलिरहेको थियो । तर, सम्मेलनको सबैभन्दा महत्वपूर्ण कुरा अर्थात् नेतृत्व चयनको कुरा चाहिँ खुमलटारबाट भयो । यो काम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गरे ।
राष्ट्रिय सम्मेलनका लागि देशैभरिबाट काठमाडौँ आएका विद्यार्थी प्रतिनिधिहरूले सम्मेलन जारी भएपनि आफ्नो नेता आफैँ छान्न पाएनन् । उनीहरू पार्टीको हुकुम मानेर फर्किन बाध्य भए । अझ भनौँ— उनीहरू आफ्नो नेतृत्व आफैँ छान्न पाउने अधिकारबाट वञ्चित भए ।
कुनै पनि संगठनहरू आफैँ आफ्नो नेतृत्व छान्न समक्ष हुन्छन् ।
केही हप्ता अघि मात्रै माओवादी केन्द्रकै युवा संगठन वाईसीएलको नेतृत्व पनि यसैगरी टुङ्ग्याइएको थियो । विवाद भएपछि चुनावबाट हल गर्नुको साटो नेतृत्व चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई नै दिइएको थियो । अर्को दल नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियूको नेतृत्वसमेत पार्टी अध्यक्ष केपी शर्मा ओलीले टुङ्ग्याए ।
यता नेपाली कांग्रेसको पारा पनि उस्तै छ । नेविसंघको सभापतिबाट नैनसिंह महरलाई हटाएर राजीव ढुंगानालाई पार्टी सभापति बनाउने जिम्मा पनि केन्द्रीय सभापति शेरबहादुर देउवाले नै लिएका थिए ।
दलका अध्यक्षले आफूखुसी नेतृत्व तोकिदिनाले विद्यार्थी र युवा संगठनहरू व्यक्तिकेन्द्रित हुने गरेका छन् । अझ राष्ट्रिय सम्मेलन बोलाएर नेतृत्व चाहिँ शीर्ष नेताको गोजीबाट तोकिनुले राष्ट्रिय सम्मेलनको र सम्मेलनमा भाग लिन आएका प्रतिनिधिहरूकै अवमूल्यन हो ।
दलका नेताहरू भने यो सामान्य रहेको बताउँछन् । माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले पार्टी ‘मोदर् अर्गनाइजेशन’ भएकाले यस्तो निर्णय गर्न पाउने बताउँछन् । ‘बुर्जुवा राजनीतिले मान्छेलाई उपभोक्तावादी बनाएको छ । यसले पनि समस्या निम्त्याएको छ । निकट संगठनहरूमा आएको समस्यातर्फ पार्टीको ध्यान जानुलाई स्वीकार्य रूपमा लिनुपर्छ । संगठनहरूमा आएको समस्याहरूको समाधान अन्ततः पार्टीले नै गर्नुपर्छ । यो प्रामाणिकता पनि हो । आधिकारिकता पनि हो,’ नेता पोखरेलले भनेका छन् ।
संगठनहरूमा नेतृत्व दाबेदारको संख्या बढी हुँदा पनि समस्या बढेको उनको तर्क छ । भन्छन्— ‘पहिले चाहिँ बल गरेर नेतृत्वमा राख्नुपर्ने थियो । तर, अहिले त्यस्तो छैन । दाबेदारी प्रस्तुत गर्नेहरूको संख्या नै ठूलो छ । यस्तो बेलामा संगठनमा समस्याहरू आउँछन् र त्यसको निरूपण मोदर अर्गनाइजेशन भएको नाताले पार्टीले नै गर्नुपर्छ ।’
विद्यार्थीहरू आफ्नो नेतृत्व आफैँ छान्न सक्षम छैनन् ?
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य राजनीतिक पार्टीले विद्यार्थी संगठनलगायतका भातृ संस्थालाई बढी प्रश्रय दिन थालेको बताउँछन् । ‘विद्यार्थी संगठनलगायतका संगठनहरूले पार्टीकै काम गर्दै आए,’ आचार्य भन्छन्, ‘यसो हुँदा पार्टीले पनि आफ्नो संगठनहरूलाई बढी नै मान्न थाले, भरोसा गर्न थाले । त्योसँगै एकखाले अङ्कुश लगाउन थाले । यसले संगठनहरूको छविलाई नै बिगार्नेसम्मका कुरा आउँछन् ।’
यस्तो शृङ्खला बढी कम्युनिष्ट पार्टीमै देखिने आचार्यको विश्लेषण छ । उनकाअनुसार कम्युनिष्टहरूले आफूलाई बढी प्रगतिवादी ठान्ने र युवाहरूलाई नेतृत्वसम्म ल्याउने भन्ठान्ने हुँदा कम्युनिष्टमा यो शुङ्खला देखिन्छ । एमालेको पछिल्लो विद्यार्थी नेतृत्व छान्ने प्रक्रियासमेतको उदाहरण दिँदै आचार्यले भने, ‘कम्युनिष्टहरूले विद्यार्थी, युवा तथा भर्खरकाहरूलाई अगाडि बढाउने विधाननै बनाउँछन् । त्यस्तो बेला यो देखिन्छ ।’
विद्यार्थी नेताहरू आफैँ आफ्नो नेतृत्व छान्न सक्षम हुँदैनन् ? भन्ने मकालुखबरको जिज्ञासामा विश्लेषक आचार्य भन्छन्, ‘हुँदैनन् भनेर कटाक्ष गर्न मिल्दैन । प्रतिस्पर्धात्मक समय छ, प्रतिस्पर्धामा धेरैजना देखिनु स्वाभाविक हो, यस्तो बेलामा केही समस्या आउन सक्छन् । तर यसकै कारणले उनीहरू नेतृत्व छान्न असक्षम हुन्छन् भन्ने हुँदैन । उनीहरू आफैँ आफ्नो नेतृत्व छान्न समक्ष हुन्छन् ।’
यद्यपि नेपालमा विद्यार्थी संगठनको उदय र ‘स्कूलिङ्ग’ कै दोषको रूपमा अहिलेको यो समस्यालाई लिन सकिने आचार्य बताउँछन् ।