विवाहको कानूनी उमेर १८ वर्ष बनाउन प्रस्ताव, ‘लिभिङ टुगेदर’लाई पनि दर्तामा ल्याउन माग
काठमाडौँ । सांसदहरूले विवाहको न्यूनतम उमेर १८ वर्षमा झार्ने प्रस्ताव राखेका छन् । नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ । व्यक्ति १८ वर्षमै बालिग हुने र १८ वर्ष भन्दा पहिलेको यौन सम्बन्ध अवैध ठहर्ने भएको भन्दै सांसदहरूले विवाहको कानूनी उमेर २ वर्ष कम गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
१८ वर्षमा बालिग हुने, १८ वर्षमाथिको यौन सम्बन्ध वैध ठहर्ने तर, विवाहको न्यूनतम उमेर चाहिँ २० वर्ष राख्ने व्यवस्था अव्यवहारिक रहेको उनीहरूको जिकिर छ ।
प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिमा सोमबार बलात्कारसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्दै सांसदहरूले कानुनले १८ वर्षमा बालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद तोकिरहनु नपर्ने धारणा राखेका हुन् ।
सांसदहरु नेपाली कांग्रेसका मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा माओवादी केन्द्रका मातृका यादव र नेकपा एमालेका सांसद तथा समिति सभापति कृष्णभक्त पोखरेलले यस्तो प्रस्ताव गरेका हुन् । ‘अब विवाहको उमेर १८ मा झार्नुपर्छ’ समिति सभापति पोखरेलले भने ।
लिभिङ टुगेदरलाई पनि दर्तामा ल्याऔँ : यादव
सांसद मातृका यादवले भने लिभिङ टुगेदरलाई पनि दर्ता गर्नुपर्ने धारणा राखेका छन् । ‘त्यो पनि अस्थायी विवाह हो नि । त्यो बिफोर म्यारिज हो । पछि परिवार मानेन भन्ने बहानामा तोडिन पुग्छ । यस्ता गतिविधि रोक्न लिभिङ टुगेदरको पनि दर्ता गर्नपर्ने हुन्छ’ बैठकमा सांसद यादवले भने ।