चितवनमाथि भैरहवाको सहज जित

काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा भैरहवाले चितवन टाइगर्सलाई पराजित गरेको छ । सोमबार टियू मैदान कीर्तिपुरमा भएको चौथो खेलमा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्समाथि ६ विकेटको प्रभावशाली जित निकालेको हो ।

ओपनर तमिम इकवाल र प्रदीप ऐरीले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेपछि भैरहवाले रवाफिलो जित निकालेको हो ।

कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा चितवनले पहिलो ब्याटिङ गर्दै एक सय ६५ रन बनाएको थियो । जवाफमा भैरहवाले १३ बल बाँकी छँदा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

भैरहवासँग पराजित भएसँगै चितवनको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लगातार चार खेल जित्दै आठ अंकका साथ शीर्ष स्थानमा रहेको चितवन शीर्ष दुईमा रहने निश्चित भइसकेको छ । चार खेलमा ६ अंक बटुलेको भैरहवा दोस्रो स्थानमा उक्लिएको छ । पोखरा राइनोज समान चार खेलमा पाँच अंकका साथ तेस्रो स्थानमा छ । चितवनसँगै भैरहवा र पोखरा प्लेअफमा प्रवेश गरिसकेका छन् ।

प्लेअफ प्रवेश गर्ने चौथो टोलीको तय हुन बाँकी छ । अब काठमाडौँले दुई खेलमा एक जित निकाले प्ले अफमा पुग्नेछ । तर दुवै खेल हारेमा ललितपुर पेट्रियट्स प्ले अफमा पुग्नेछ । तीन अंकका साथ ललितपुर चौथो स्थानमा छ भने काठमाडौँ दुई अंकका साथ पाँचौं स्थानमा छ ।

भैरहवाका प्रदिपले सर्वाधिक ७२ रन बनाए । प्रदिपले ४३ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । त्यस्तै अर्का ओपनर तमिम इकवालले ३० बलमा पाँच चौका र एक छक्कासहित ४० रन जोडे । चितवनका सागर ढकाल र भिम सार्कीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १ सय ६४ रनको योगफल खडा गरेको थियो । चितवनका करिम जनतले ३५, मोहमद सहजादले ३२ र सिकुगे प्रसन्नाले २४ रन जोडेका थिए ।

भैरहवाका अविनाश बोहराले तीन विकेट लिए । त्यस्तै कुशल मल्लले दुई विकेट लिदाँ धमिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्कीले समान एक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *