पुँजी बजार सुधार्न सरकारसँग उद्योग वाणिज्य महासंघको माग
काठमाडौँ । निरन्तर ओरालो लागेको नेपालको पूँजी बजार (नेप्से)लाई सुधार्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ । नेपालको पुँजी बजार सुधार अवरुद्ध हुनुको कारणसहित यसको सुधारका लागि महासंघले माग गरेको हो ।
इतिहासमै गत वर्ष पुँजी बजारले सर्वाधिक राजस्व संकलनका लागि सहयोग गरेको भन्दै पुँजीबजार सुधारमा महासंघले माग गरेको हो ।
हाल डिम्याट खाता खोल्ने लगानीकर्ता नै ४५ लाख पुगिसकेकोले पुँजी बजारमा नेपाली लगानीकर्ताको आकर्षण देखिएको तर बजार घट्दा यसले सबैलाई निराश बनाएको महासंघको भनाई छ ।
कम्पनीहरूकाे मूल्यमै अन्य निकायहरुको हस्तक्षेप हुनु, बैंक तथा वित्तीय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, सेयर धितो कर्जामा लगाइएको एकल ग्राहक कर्जा सीमा तोक्नुले पनि सेयर बजार घटाएको ठहर गरेको छ ।
त्यस्तै, सूचिकृत कम्पनीहरुले हकप्रद तथा अन्य विधिबाट पूँजी वृद्धि गर्न रोक्नु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरिद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था गरिने जस्ता कारणले बजार घटाएको बताउँदै महासंघले यस्ता व्यवस्थामा सुधार गर्न माग गरेको छ ।
सेयर बजार (नेप्से) परिसूचक भदौ पहिलो सातायता ओरालो लागेकोले यसको सुधारमा महासंघले जोड दिएकाे छ ।