गण्डकीका तीनै जिल्लामा सर्वसम्मत नेतृत्व चयन, गोरखाको अन्य पदमा मतदान हुने

पोखरा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पहिलो चरणमा अधिवेशन भएका तीनवटै जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

सबैभन्दा पहिले मनाङमा सबै तहको नेतृत्व सर्वसम्मत चयन गरिएको हो । मुस्ताङमा पनि सभापतिदेखि सबै पदमा सर्वसम्मत भएको छ । गोरखामा भने सभापति बाहेक अन्य पदमा मतदान हुने देखिएको छ ।

मनाङको सभापतिमा शंकर गुरुङ निर्विरोध चयन भए । शनिबार भएको जिल्ला अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपसभापतिमा यज्ञ घले र चन्द्र घले चयन भएका छन् भने सचिवमा सुरेन्द्र गुरुङ र महेन्द्र घले छन् । यज्ञ जिल्ला समन्वय समितिको प्रमुख हुन् भने चन्द्र नासों गाउँपालिका अध्यक्ष हुन् ।

सचिवमा निर्वाचित गुरुङ यसअघि पनि सचिव नै थिए । सहसचिवमा काशीराम गुरुङ र सागर गुरुङ तथा कोषाध्यक्षमा कर्माबहादुर गुरुङ चयन भएका छन् । मनाङमा १ महिना अघि नै सबै तहको समिति चयन गरिएको हो ।

मुस्ताङमा पूर्वमन्त्रीसमेत रहेका नेता रोमी गौचन थकालीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । उपसभापतिमा विजय हिराचन र ढोका गुरुङ, सचिवमा विकल शेरचन र छेवाङ नर्वु गुरुङ तथा सहसचिवमा नम्डुल गुरुङ र सोमल हिराचन चयन भए । कोषाध्यक्षमा गणेश शेरचन चुनिएका छन् । मनाङ र मुस्ताङका सबै वडा, पालिका र प्रदेश तथा प्रतिनिधिसभाको कार्यसमिति तथा महाधिवेसन प्रतिनिधिहरु पनि सर्वसम्मत चयन भएका हुन् ।

गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत भए । सोमबार उनको मात्रै मनोनयन परेको हो । अन्य पदमा भने मतदान हुने भएको छ । उपसभापतिमा धिरन थापा, रवीकला खनाल, इमानसिंह बस्नेत, हरि गान्धारी र सीपी पोखरेलले उम्मेदवारी दिएका छन् ।

यस्तै, सहसचिवमा किशोरजंग थापा, कृष्ण आले, ओमबहादुर गुरुङ, तारा पुडासैनी, रामप्रसाद भण्डारी उम्मेदवार छन् भने लुमनाथ लामिछाने, रामशरण आचार्य, गगन अधिकारी, विश्व भट्ट, दीपक हमाल, भेषराज पाण्डे लगायतले सहसचिवमा उम्मेदवारी दिएका छन् ।

सभापतिमा निर्वाचित मुस्ताङका थकाली पौडेल पक्षका हुन् भने मनाङका गुरुङ देउवा पक्ष तथा गोरखाका न्यौपाने गगन थापा निकटका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *