चाहेजस्तै जित निकाल्दै अघि बढ्दै मुम्बई
काठमाडौँ । इन्डियन प्रिमियर लिग क्रिकेटको ५१ औँ खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि मंगलबार ८ विकेटको जित निकाल्यो । केवल ९१ रनको लक्ष्य मुम्बइले मात्र ८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो । जितसँगै मुम्बईले प्लेअफको अपेक्षा कायमै राखेको छ ।
टीमको १३ खेलमा १२ अङ्क भएको छ । मुम्बई तालिकाको पाचौँ स्थानमा छ । हारसँगै राजस्थान भने प्लेअफ (शीर्ष ४) को दौडबाट बाहिरियो। राजस्थानमाथि मुम्बईको जित उसले चाहेको जस्तै भयो ।
जितमात्र नभएर राम्रो रनरेट पनि भएकाले यो उसले चाहेको जस्तो नै रह्यो। तसर्थ यो जित उसले सोचे झैं भयो । अब मुम्बई अर्को खेलमा आफ्नो जित र कोलकाताको हारको कामनामा हुनेछ।
जारी सिजनमा अहिलेसम्म चेन्नई, दिल्ली र बेंग्लोरले अन्तिम चारमा स्थान बनाएका छन् । चौथो स्थान प्रवेशका लागि कोलकाता र मुम्बईको दौड सर्वाधिक बलियो छ । रनरेटका हिसाबले कोलकाता (०.२९४) सहित अघि छ । मंगलबारको जितपछि मुम्बईको नेट रनरेट सुधार भएको छ । उसको रनरेट (०.०४८) रहेको छ ।
मुम्बईको अर्को खेल सनराईज हैदराबादसँग छ । यो खेल जितेमा उसको १४ अङ्क हुने छ । यतिले मात्र उसलाई पुग्ने भने छैन । त्यसपछि मुम्बईको आशा राजस्थान र कोलकताबिचको खेलमा केन्द्रित हुने छ ।
यदि कोलकाताले राजस्थानलाई हराए कोलकाताको पनि १४ अङ्क हुनेछ । तर कोलकाताको नेट रनरेट राम्रो भएकाले स्वभाविक रुपमा कोलकाता प्लेअफमा पुग्ने छ । तर कोलकाता पराजित भए र मुम्बई विजयी भए मुम्बई प्लेअफमा पुग्नेछ । दुवै टिम पराजित भएमा भने रनरेटको आधारमा प्लेअफ पुग्ने अन्तिम टोलीको छिनोफानो हुनेछ ।
यो पनि : कुन बन्ला प्लेअफ पुग्ने चौथो टीम ?