सत्तारुढ दलहरू मन्त्री छान्नमा व्यस्त

काठमाडौँ । सत्तारुढ गठबन्धनका दलहरू मन्त्री छान्न व्यस्त भएका छन् । मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालयीय भागबन्डा टुङ्ग्याएसँगै दलहरू आफ्नो दलको तर्फबाट सरकारमा सहभागी हुने नेताहरूको नाम छान्न व्यस्त भएका हुन् । नेताहरूकाअनुसा भोलिसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँदैछ ।

मंगलबारको बैठकमा सहमति जुटेअनुसार कांग्रेसले गृह, परराष्ट्र, सञ्चार, रक्षा, उद्योग, महिला तथा बालबालिका र युवा तथा खेलकुल मन्त्रालयको जिम्मेवारी पाउँदैछ भने अर्थ, ऊर्जा, शिक्षा, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी माओवादी केन्द्रको भागमा परेको छ ।

सहरी विकास, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटन र कानून एकीकृत समाजवादीको भागमा परेको छ भने भौतिक पूर्वाधार, कृषि, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी जनता समाजवादी पार्टी (जसपा) ले पाउँदैछ ।

यी सबै दलहरूमा मन्त्रीका आकांक्षी धेरै हुँदा समस्या भएको नेताहरूले बताएका छन् । मन्त्रीका आकांक्षी धेरै हुँदा आन्तरिक समस्याहरू पनि उत्पन्न भएको जसपा नेता रेणु यादवले बताइन् । ‘हाम्रोमा पनि मन्त्रीका आकांक्षी धेरै हुनुहुन्छ,’ यादवले भनिन्, ‘सत्ता गठबन्धनका सबै दलहरूमा यस्तै छ । यसमा दलहरूको छुट्टाछुट्टै बैठक बस्दैछ । यसपछि भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने हाम्रो तयारी छ ।’

मन्त्रीको नामबारे छलफल गर्न जसपाको बैठक जारी छ । पार्टी कार्यालय बालकुमारीमा जारी बैठकमा खासगरी पार्टीबाट सरकारमा जाने नेताहरूको नामबारे छलफल भइरहेको छ । नेता यादवकाअनुसार आजैको बैठकले पार्टीको भागमा परेको मन्त्रालयहरूमा क–कसलाई पठाउने भन्नेबारे निष्कर्ष निकाल्नेछ । जसपाबाट मन्त्रीको आकांक्षीमा महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, मृगेन्द्र यादव, ईस्तियाक रायन राई, अमृता अग्रहरिलगायतका नेताहरू छन् । श्रोतकाअनुसार यी नै नेताहरूको नाममा आज सहमति जुट्नेछ ।

यस्तै सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको इतर पक्षको पनि बैठक बस्दैछ । मन्त्रीको नाम छान्न नेता रामचन्द्र पौडेलले बुधबार (आज) दिउँसो २ बजेका आफ्नै निवास बोहोराटारमा बैठक बोलाएका हुन् । पौडेल समूहले आफूले उपप्रधान मन्त्रीसहितका ३ मन्त्रालयहरू पाउनुपर्ने दाबी गर्दै आएको छ । प्रधान मन्त्री शेरबहादुर देउवा भने इतर पक्षलाई उपप्रधान मन्त्री दिन सकारात्मक देखिएका छैनन् । समग्रतामा कांग्रेसबाट दिलेन्द्र बड्डू, राजेन्द्र केसी, भीमसेनदास प्रधान, अतहर कमाल, देवेन्द्रराज कँडेल, मिनेन्द्र रिजाल, डिला संग्रौला, पुष्पा भुसाललगायतका नेताहरू मन्त्रीका आकांक्षी छन् ।

यस्तै सत्तारुढ दलको एक घटक माओवादी केन्द्रले पनि मन्त्री छान्न स्थायी कमिटी बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए । ‘समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको भन्ने सूचना आयो,’ नेता पौडेलले भने, ‘समसामयिक भन्नेबित्तिकै यही त हो मन्त्रालयीय कुरा । मन्त्रीको नाम छान्ने कुरा यस्तै यस्तै होला ।’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपालि समुदाय, लिङ्गदेखि क्षेत्रसम्म मिलाएर मन्त्री बनाउन लागेका छन् । नेता मातृका यादवकाअनुसार प्रचण्डले समावेशी आधारमा मन्त्री बनाउँदैछन् । उनले भने, ‘सिङ्गो मन्त्रिमण्डल नै पनि समावेशी बनाउने भन्ने हाम्रो जोड हो । त्यसमा पनि माओवादी केन्द्रबाट मन्त्री बन्नेमा झनै समावेशी हुनुपर्छ भन्ने अध्यक्ष कमरेडको बुझाइ छ । त्यहीअनुसार काम हुँदैछ ।’ माओवादीबाट देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराँती, अञ्जना विशंखे, शिवकुमार मण्डल, अमनलाल मोदी, महेश्वर गहतराजलगायतबाटै मन्त्री बन्दैछन् ।

यस्तै एकीकृत समाजवादी पनि आन्तरिक रूपमा छलफलमै रहेको नेता मेटमणि चौधरीले बताए । नेता चौधरीकाअनुसार मन्त्रीको सूची पार्टी अध्यक्ष माधवकुमार नेपालले यसअघि नै प्रधान मन्त्रीलाई बुझाइसकेका छन् । त्यसमा आफ्नो दलले पाएको मन्त्रालयमा क–कसलाई पठाउने भन्नेबारे अनौपचारिक रूपमा छलफल भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *