प्रदेश नं. २ लाई बजेटमा विभेद गरियो : मुख्यमन्त्री राउत

काठमाडौँ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले आफूहरूलाई बजेटमा विभेद गरेको बताएका छन् । बुधबार (आज) बसेको प्रदेश सभा बैठकमा माग लिँदै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । ‘अन्य प्रदेशको हकमा आर्थिकदेखि अन्य शीर्षकमा जे-जस्तो विशेष, समपूरक अनुदान सहयोग संघ सरकारबाट भएको छ,’ सम्बोधनका क्रममा मुख्यमन्त्री राउतले भने, ‘त्यो हामीले पाएनौँ ।’

मुख्यमन्त्री राउतल प्रदेश सरकारले बनाएका ऐन-नियमको कार्यान्वयनमा विभिन्न व्यवधान उत्पन्न भइरहेकोसमेत बताए । संघ सरकारका कर्मचारीहरू प्रदेश नं. २ प्रति पूर्वाग्रही बनेकोसमेत मुख्यमन्त्री राउतको आरोप थियो ।

यस्तै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारले छापा मारेकोप्रति असन्तुष्ट व्यक्त गरे । ‘कमसेकम मलाई भनेको भए पनि मैले रोक्दिनथेँ,’ मुख्यमन्त्री राउतले भने, ‘म उहाँहरूलाई सम्मान गर्छु । अझै उहाँहरूलाई सम्मान गर्छु । तर, त्यसरी गर्नु हुँदैनथ्यो । यो राम्रो भएन । कमसेकम यहाँको प्रमुखको हिसाबले मलाई खबर गर्नुपर्थ्यो । कमसेकम मलाई फोनमार्फत नै भएपनि खबर गरेको भए हुन्थ्यो ।’

प्रदेश सरकारले साइकल खरिदमा अनियमितता गरेको भन्ने समाचार बाहिरिएपछि अख्तियारले छापा मारेर ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमको कागजातसमेत जफत गरेको थियो । यसपछि सरकारकै सहयोगमा अख्तियारविरुद्ध प्रदर्शन भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनलले भने अख्तियारविरुद्ध सरकारकै सहयोगमा प्रदर्शन हुनु दुखद् रहेको बताए । भने— ‘यो निको भएन । सरकार सबै नियम तथा ऐनहरूको उल्लङ्घन गर्दै अगाडि गयो ।’ यस्तै उनले सरकार असंवैधानिक भइरहेको बताए । मुख्यमन्त्री राउतले असोज ७ भित्र विश्वासको मत लिइसक्नुपर्ने नेता सोनलको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *