एमसीसी राष्ट्रिय हितमा भए पास गर्ने हो, छैन भने किन गर्ने ? : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालको हितमा भए मात्र पारित गर्नुपर्ने बताएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले एमसीसीमा नेपालले हस्ताक्षर गरेको लामो समय भइसकेकाे र अझै अघि नबढेको भन्दै यो नेपालको हितमा भए मात्रै पारित गर्नुपर्ने बताएका हुन् ।

मुलुकको हितमा नभएर पारित गर्न नहुने अडान उनको थियो । ‘एमसीसी राष्ट्रिय सहमतिबाट अघि बढाउने हो । हाम्रो हितमा छ भने पास गर्ने हो छैन भने किन पास गर्ने ?,’ परराष्ट्रमन्त्री प्रश्न गर्दै भनेका छन् ।

मन्त्री खड्काले एमसीसी राष्ट्रिय हितमा छ कि छैन भन्ने कुरा त्यसअघि किन अध्ययन नगरिएको हो ? भन्ने प्रश्न पनि गरे । ‘हस्ताक्षर गर्नु पहिला किन अध्ययन गरेनौं ? यो सहमतिपछि अहिलेसम्म सातजना परराष्ट्रमन्त्री बनिसकेका छौँ,’ उनले भने— ‘अब एमसीसी एकस्वरबाट अगाडि बढ्नुपर्छ । हाम्रो हितमा छ भने पास गरौँ, छैन भने अमेरिकालाई यो हाम्रो हितमा पाएनौं भनेर भनौँ ।’

यसअघि अमेरिका पुगेका उनले एमसीसी पारित गर्ने आश्वासन दिएका थिए । आफूहरूले अध्ययन र विचार विमर्श गरिरहेको जानकारी अमेरिकालाई दिँदै भनेका थिए— ‘पारित हुनसक्छ । राष्ट्रिय सहमति बनाउँदैछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *