पौडेल पक्षले माग्यो तीन मन्त्री‚ देउवाले भने- सक्दिनँ

काठमाडौँ । पार्टीका तर्फबाट मन्त्री बन्नेको भागबण्डा नमिलेपछि बालुवाटारमा बसेको कांग्रेस पदाधिकारीको बैठक बिनानिष्कर्ष सकिएको छ । छलफलमा रामचन्द्र पौडेल समूहले तीन जना मन्त्री पाउनुपर्ने माग गरेको‚ तर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले दिन नसक्ने बताएपछि सहमति हुन नसकेको हो ।

मन्त्रीका बारेमा कुनै टुङ्गो नलागी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह बैठकबाट निस्किएको पौडेलको सचिवालयले जनाएको छ । रौतहट र सर्लाही बरहथवाको क्रियाशील विवादका विषयमा पौडेल र सिंहको देउवासँग चर्काचर्की नै परेको पनि सचिवालयले जनाएको छ ।

सदस्यताको विवादका कारण यी दुवै ठाँउमा कार्यकर्ता अनशनमा छन् । विवाद सकेर अनशन टुंगो लगाएर उनीहरुलाई दशैँ मान्न दिनुपर्ने पौडेल र सिंहले बताएका थिए । चिसो छिडीमा अनशन बस्दा बिरामी परेकाले तत्काल विवाद मिलाउन ध्यानाकर्षण गराउँदा सभापति देउवाले बिरामी परे अस्पताल लैजान भनेका थिए ।

त्यसपछि वरिष्ठ नेता पौडेल तथा नेताहरू सिंह र कोइरालाले सभापतिले कार्यकर्ता मार्ने हो कि बचाउने हो भन्दै आपत्ति जनाएका थिए । सभापति देउवाले पार्टीका मुख्यसचिवलाई बोलाएर सदस्यताबारे टुङ्गो लगाउन यसअघि बनेको पार्टीको समितिसँग छलफल गरी भोलिसम्ममा टुङ्गो लगाउन निर्देशन दिएको पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *