विजया दशमी अर्थात् तराई मधेसको दुर्गा पूजा
जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूको चाड विजयादशमी विधिवत् रूपमा सुरु भएको छ । यो महान् चाड विजयादशमीको तराई मधेसतिर आफ्नै महत्त्व र पृथकता रहेको छ । तराई मधेसतिर दशैँ पर्वलाई दुर्गा पूजा समेत भन्ने गरिन्छ ।
घटस्थापनाको दिनलाई तराई मधेसमा ‘कलस्थापन’ भनिन्छ । विजयादशमीमा माता दुर्गाका ९ अवतारको पूजा गरिन्छ । ‘कलस्थापन’ दिन कलस्थापन गर्नुअघि यतातिर कलश यात्रा निकाल्ने परम्परा समेत रहेको छ । यो विधिसँगै दुर्गा पूजाको आरम्भ हुन्छ ।
तराई मधेसमा दुर्गा पूजामा ‘बेलनोती’, ‘बेलतोड़ी’, ‘खोइछ भरी’, ‘कुमारी भोजन’लगायतको विधिले अन्य स्थानमा मनाइने दुर्गा पूजाको परम्परासँग पृथक र विशिष्ट बनाउँछ । विजयादशमी अर्थात् दुर्गा पूजाको छैठौँ दिन ‘बेलनोती’ विधि गर्ने परम्परा छ ।
यस दिन माता कात्यायनीको पूजा गर्नुका साथै दुर्गा पूजा हुने स्थानहरूमा ‘बेल’लाई निमन्त्रणा दिने परम्परा रहेको छ । सो दिन ‘बेल’को रुखमा रहेको जुम्ल्याहा ‘बेल’लाई पहेँलो वा रातो कपडामा बाँधेर विधिपूर्वक निमन्त्रणा दिने परम्परा रहेको छ ।
यो विधिलाई यतातिर ‘बेलनोती’ विधि भनिन्छ । यसरी निमन्त्रणा दिइएको ‘बेल’लाई दुर्गा पूजाको सातौँ दिन काटेर पूजा स्थलमा भित्र्याउने परम्परा रहेको छ । यो विधिलाई तराई मधेसमा ‘बेलतोड़ी’ भनिन्छ ।
सोही दिन तराई मधेशका महिलाहरूले शक्ति पीठ वा पूजा स्थलमा ‘खोइछ भरी’ विधि गर्ने परम्परा समेत रहेको छ । महिलाहरूले शक्ति पीठमा गएर दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउने गर्छन् । जसलाई यतातिर ‘खोइछ भरी’ विधि भनिन्छ ।
तराई मधेसमा नवरात्रीको ९ दिनसम्म निराहार व्रत गर्ने परम्परा समेत रहेको छ । निराहार व्रत गर्नेहरूले दुर्गा पूजाको नवौँ दिन कुमारी कन्यालाई पूजा गरेर भोजन गराउने परम्परा रहेको छ । जसलाई ‘कुमारी भोजन’ भनिन्छ ।
विजय दशमीको अन्तिम दिन जमरासँगै टिका लगाउने र ठुलाबडाको आशीर्वाद लिने प्रचलन रहेको छ । असोज शुक्ल प्रतिपदाबाट सुरु हुने दुर्गा पूजा असोज शुक्ल दशमीका दिन विजय दशमी पर्व मनाउँदै विधिवत् रूपमा समापन हुन्छ ।
दुर्गा पूजामा माता दुर्गाको ९ स्वरूपको गरिने पूजाहरू ?
पहिलो दिन – दुर्गा पुजाको पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ । शैलपुत्रीको लुगाको रङ्ग रातो हुन्छ । त्यसैले नवरात्रीको पहिलो दिन रातो रङ्गको लुगा लगाइन्छ ।
दोस्रो दिन – दुर्गा पुजाएको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिन्छ । यस दिन साधकहरूले निलो रङ्गका लुगा प्रयोग गर्ने गर्छन ।
तेस्रो दिन – दुर्गा पुजाएको तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिन्छ । यस दिन साधकले पहेँलो रङ्गको लुगा लगाएर पूजा गर्ने गर्छन् ।
चौथो दिन – माता दुर्गाको चौथो स्वरूप कुष्माण्डा देवी हुन् । यस दिन कुष्माण्डाको पूजा गरिन्छ । यतातिर कुष्माण्डा मातालाई कुभिन्डोको बली दिने परम्परा रहेको छ । यस दिन साधकले हरियो रङ्गको लुगा लगाउने गर्छन् ।
पाँचौ दिन – पाँचौ दिन स्कन्द माताको पूजा तथा उपासना गरिन्छ ।
छैठौँ दिन – माता दुर्गाको छैठौँ स्वरूपको नाम कात्यायनी देवी हो । यस दिन माता कात्यायनी देवीको पूजा गरिन्छ । छैठौ दिन साधकहरूले सुन्तला रङ्गको लुगा लगाउने गर्छन् ।
सातौँ दिन – सातौँ दिनमा कालरात्रिको उपासना गरिन्छ । यस दिन साधकहरूले सेतो रङ्गको लुगा लगाउने गर्छन् ।
चार रात्रिमध्ये तराई मधेसमा कालरात्रिको विशेष महत्त्व रहेको छ । यस दिन भक्तजनहरू रातभर जाग्राम बसेर माताको पूजा आराधना गर्छन् ।
आठौँ दिन – आठौँ दिन दुर्गाको आठौँ शक्ति महागौरीको पूजा गरिन्छ । महागौरीको स्वरूप गौर रङ्गको हुन्छ ।
नवौँ दिन – दुर्गा पूजाको नवौँ दिन आदि शक्ति माता सिद्ध दात्रीको आराधना गरिन्छ । माता सिद्ध दात्रीको पूजासँगै विधिवत् रूपमा नवरात्रीको समापन हुन्छ ।