प्रथम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

२०७८ असोज २३ गते

धनगढी । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा धनगढीमा जारी प्रथम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ । शनिवार भएको फाइनल खेलमा डडेल्धुरालाई ३–० को सोझो सेटमा पराजित गर्दै डोटीले उपाधि उचालेको हो ।
सेटको पहिलो म्याच २५–२२ ले जितेको डोटीले दोस्रो २५–१३ र तेस्रो म्याच २५–२१ सजिलै जित्दै उपाधि माथि कब्जा जमाउन सफल भयो । उपाधिसँगै डोटीले नगद एक लाख र ट्रफी प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको उपविजेता बनेको डडेल्धुराले नगद ५० हजार र ट्रफीमा चित्त बुझाएको छ ।
प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिम कैलाली र कञ्चनपुरले पच्चिस/पच्चिस हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले विजयी टिमलाई पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

२०७८ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित