तोरीलाउरे, डोरीलाउरे र घोडीलाउरे
गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सी शुरु भयो । अश्वत्थामा, दुर्योधन, कर्ण, शकुनी र दुशासन कौरव पक्षका होनहार लडाकु थिए । उनीहरूले सेनापतिमा धेरै गुण हुनुपर्ने भएकाले नायक रोज्दा शूरवीर, धैर्यवान र परेका बखत तत्काल निर्णय दिन सक्ने क्षमता भएको व्यक्ति भावी सेनापति हुनुपर्ने राय दिए ।
यसैबीच अश्वत्थामाले महावीर कर्णलाई सेनापति बनाउनुपर्ने प्रस्ताव गरे । प्रस्ताव एकमतले पारित भयो । यो निर्णयबाट सबैभन्दा दुर्योधन दङ्ग जस्तो देखिन्थे । सबै बिदाबारी भएपछि कर्णलाई अँगालो हाल्दै एकान्तमा लगेर दुर्योधनले भने- ‘मित्र, वास्तवमा मलाई पितामह र गुरु द्रोणाचार्य कसैको विश्वास थिएन । वास्तवमा उहाँहरू पाण्डवलाई बढी माया गर्नुहुन्थ्यो ।
त्यसैले हामी क्षमता भएर पनि सफल हुन सकेनौँ । म त तिम्रै भरमा थिएँ । सेनापति बन्ने योग्यता तिमीबाहेक कसैमा छैन । अब हामी सफल हुन्छौँ ।’ दुर्योधनको प्रशंसाबाट हौसिएका कर्ण भन्छन्- ‘अब म पाण्डवहरूलाई युद्धमा टिक्नै दिन्न । भोलि नै अर्जुनलाई खत्तम गरेर सबै पाण्डवलाई म आफ्नो शिविरमा ल्याएर थुन्छु । यो मेरो प्रतिज्ञा हो ।’
कर्णको सङ्कल्पले दुर्योधनलाई हुनसम्मको ढाडस दियो । यी पात्र बाहिरबाट अत्यन्तै मिलेको जस्तो देखिए पनि शङ्काको लाभ लिन चुक्दैनथे । उनीहरू सहयोगीका नाममा एकले अर्कालाई राम्रैसँग ठग्दथे । यिनीहरूको सम्बन्ध नङ मासुजस्तो त थियो तर नङ काटिँदा मासु कुनै प्रतिवाद गर्दैनथ्यो ।
अहिले त एमालेभित्र काँग्रेस-माओवादी, माओवादीभित्र काँग्रेस-एमाले यी सबै दलभित्र लोकमानका चेलाचपेटाको बिगबिगी छ ।
केपी ओली र पुष्पकमल दाहाललाई प्रारब्धले दुर्योधन र कर्णको ठाउँमा ल्याइदिएको छ । महाभारत त्यस्तो शृङ्खला हो, जसका पात्रहरूले राज्य जितेर पनि कीर्तिमानी हुने सुअवसर पाएका थिएनन् । राज्यभोगको साइत अन्ततः श्राप र आँसुको दुर्दान्त रुझानमा लपक्कै भिजेको छ । युद्धका नायक श्रीकृष्ण व्याधाको प्रहारबाट नासिएका छन् ।
राज्यभोग गर्नुपर्ने पाण्डव एक एक गर्दै सुमेरु पर्वतमा बिलाएका छन् । कूटनीतिज्ञ विदुरलाई वैराग्यले छोएको छ । जिन्दगीभर शत्रु ठानेर युद्ध गरिएका कर्ण सहोदर दाजु भएको खुलासा आमा कुन्तीले गरेपछि पाण्डवहरू यति व्यथित भए कि जीवनको उत्तरार्द्ध निस्सार साबित भयो । युद्धवीरहरू किंकर्तव्यविमूढ बने ।
महाभारतका पात्रलाई जस्तै थरिथरिका नेकपा कार्यकर्ताहरूमा उत्कर्षको वैराग्य छाएको छ । प्रतिवाद गरौँ जिन्दगीभरको रगत, पसिनाको मूल्य खोसिने, नगरौँ कुण्ठाले जीवन सत्यानाश हुने । भाषणमा सर्वहाराको दुहाई दिएर के गर्नु ? नेकपा भित्रभित्रै चिनियाँ कम्युनिस्ट पार्टी, भारतीय कम्युनिस्ट पार्टी, अमेरिकी कम्युनिस्ट पार्टी, काँग्रेस- कम्युनिस्ट पार्टी, राजावादी कम्युनिस्ट पार्टी हुँदै होली वाइन कम्युनिस्ट पार्टीमा विभाजित छ ।
कुन शक्तिले नेतालाई भुट्ने सामर्थ्य राख्छ, त्यही एजेण्डाले देशको राष्ट्रिय माग धारण गर्छ । सङ्घीय गणतन्त्र भन्नु मात्र हो, यो कस्तो व्यवस्था हो ? ल्याउनेलाई थाहा छैन । गणतन्त्रको जमिनलाई पैसाको सुनामीले सिध्याएको छ । राजनीतिमा प्रचलित १ मा १ जोड्दा ११ हुनुको साटो सुरथको गुलाम हुन थालेको छ ।
जतिसुकै मेहनत गरेपनि कहिल्यै नेता हुन नसक्ने युवराज खतिवडा, नवराज सिलवाल, कोमल ओली, विनोद चौधरी, उमेश श्रेष्ठजस्ता पात्रहरु पार्टीको फ्रन्ट डेस्कमा देखिन थालेका छन् । द्रव्यमोहले क्रान्तिको इतिहास लुलो बन्दै गएको छ । यत्र, तत्र, सर्वत्र चाकरी र सलामीको भोक जागेको छ । जिन्दगीभर गरिब र जनताका नाममा सती जान खोज्ने नेताहरू एकाध दशकमै कम्पनी प्रालिका महाप्रबन्धक भएका छन् ।
यस्तो व्यवस्था संसारमा कहाँ होला, जहाँ राजनीति गर्नेहरू सबै सत्तापक्ष हुने मौका पाउँछन् । घरमा नोकर चाहियो- सुरक्षाकर्मी हाजिर । उपचार खर्च चाहियो- राजश्वबाट कति चाहिन्छ ? छिमेकी, मामा चेला, फुपू चेलालाई सान देखाउनु पर्यो- आफैँले भर्ती गरेका सिपाही नामै किटेर घर सरुवा गर्दा कानुनले छेकबार लगाउँदैन ।
एकाध वर्षपछि माल असुल्ने ठाउँमा बक्सिस स्वरूप सरुवा गरिदियो कर्तव्य तमाम । सबै कर्म, कुकर्म हेर्दा लाग्छ- यो व्यवस्थाको पहिलो र अन्तिम विशेषता भनेकै नेताहरूको रहर र लहडको तामेली हो । सरकारी श्रम र शक्ति यसरी व्यक्तिगत बनाउन पाइने शासन व्यवस्थामाथि प्रश्न चिन्ह जसले उठाउँछ, त्यो गणतन्त्र विरुद्धको कालो बादल करार हुन्छ ।
हाइड्रोपावरदेखि बालुवा खानीसम्मका कमिसन तलदेखि माथिका नेताको खातामा जम्मा भएपछि विरोध कुन चरीको नाम हो पत्तै हुन्न । नातागोता, हुक्के, ढोके, छाते कसलाई के बनाउनु पर्छ ? कुनै नियम कानुनले छेक्दैन । कसैलाई सिध्याउन र कसैलाई बनाउन कानुन रबर बनाउने छूट नेतृत्वलाई छ ।
नेपाल त्यस्तो देश हो, जहाँ दिउँसो हैन राती काम हुन्छ । अफिसभित्र नभएर अफिस बाहिर फाइलका कर्म तमाम गरिन्छ । कार्यालय समय त काम नगर्नेहरूले बहाना बनाउने मेलो मात्र हो । सरकारी समय गुजारेपछि रातो मसीका अख्तियारवालाहरूको सुर लाग्छ । यही भएर नै त कर्मचारीका मुखियाले राजनीतिका मुखियाको टाइसीट तयार गरिदिन्छन् ।
एउटाको हनुमान गिरी गरेपछि पट्यारलाग्दो अवकाश जीवन बिताउनु पर्दैन भन्ने मन्त्रले हाकिमी समाजमा राम्रै काम गरेको छ । सिक्वेन्स कस्तो मिलेको छ भने सरकार झैँ सचिवको करार पनि पाँच वर्षकै तोकिएको छ । रसायन मिलाउन सक्ने बहादुर हाकिमहरू अवकाश नभई नै फरक अवतारमा अर्को राजा भएर उदाउन थालेका छन् ।
सरकारी श्रम र शक्ति यसरी व्यक्तिगत बनाउन पाइने शासन व्यवस्थामाथि प्रश्न चिन्ह जसले उठाउँछ, त्यो गणतन्त्र विरुद्धको कालो बादल करार हुन्छ । हाइड्रोपावरदेखि बालुवा खानीसम्मका कमिसन तलदेखि माथिका नेताको खातामा जम्मा भएपछि विरोध कुन चरीको नाम हो पत्तै हुन्न ।
राजनीतिभित्रको पानी कति बेइमानी छ भने बाबुराम अर्को गुठी खोलेर आफू कुनै समय माओवादी दलको शीर्ष नेता भएको स्मरणसम्म पनि गर्न चाहँदैनन् । नारायणकाजीलाई पार्टी नखाउँ दिनभरिको सिकार, खाउँ कान्छा बाउको अनुहार जस्तै भएको छ । एकथरि माओवादी काठमाडौँको सभ्रान्त परिवारमा रूपान्तरण भइसकेका छन् ।
उनीहरू रक्तरन्जित विगतलाई ‘नराम्रो सपना’ भन्ने अवस्थामा पुगेका छन् । अर्काथरि अरबका डोरीलाउरे र बाँकी रहेकाहरू युरोप अमेरिकामा ‘तोरीलाउरे’ बन्ने धुनमा छन् । घोडीलाउरेको खेती नै रातदिन नेताको घोडा हुनु हो । पहिला पहिला कम्युनिस्ट र काँग्रेस अलग दल हुन्थ्यो । दलका शीर्ष नेता हुन्थे । नेताले भनेको माथिदेखि तलसम्म अक्षरशः पालना हुन्थ्यो ।
अहिले त एमालेभित्र काँग्रेस-माओवादी, माओवादीभित्र काँग्रेस-एमाले यी सबै दलभित्र लोकमानका चेलाचपेटाको बिगबिगी छ । उनी त झारले छोपिएको पिपल जस्तै हुन । जब झारपात घामको ताप र बर्खाको भेल थेग्न नसकेर पराल हुन्छ, त्यसपछि पिपलरुपी लोकमान लहलह भएर उदाउने छन् ।
केही समयका लागि अस्ताए पनि उनले छरेका सलाईका काँटी देशभर फिँजिएका छन् । फेरि जयजयकार शुरु हुनेछ । राजा ज्ञानेन्द्रको सत्ता पल्टिँदा सबैभन्दा घृणा गरिनेमध्येका पात्र कमल थापा समकालीन राजनीतिमा म्यारिजको मालजस्तो भइसकेका छन् । उनी हातमा घडी फेरेर समय आफ्नो कब्जामा रहेको भ्रम छर्न सफल छन् ।
केपी ओलीले चराको चुच्चोजस्तो रेल र चुलो चुलोमा ग्यास ल्याउने सपना देखाउँदा उनका कार्यकर्ताले राजनेताको पखेटा लगाएर फेसबुक भरेको दृश्य देखेको पूर्वमाओवादी नेतृत्व उपत्यका उज्यालो बनाएको जशमा बरबराउने गर्छ । तिललाई पहाडमा अनुवाद गर्न सक्ने कम्युनिस्ट मनोविज्ञानबाट माओवादी स्वयं चुकेको बुझ्न कठिन छैन ।
बाटो बढाएका बाबुराम बैरी भएर निस्किए । एमाले अध्यक्ष ओली कुरै खाने, कुरै ओढ्ने, कुरै ओछ्याउने रोगबाट मुक्त भएनन् । संसारका मानिसले बुझ्ने समान भाषा हो- हाँसो । अन्धकार नासिएपछि सम्भवतः यही भाषा सर्वसाधारणको अनुहारमा भेटिनु पर्छ । हाम्रो भू धरातल र सामाजिक सन्तुलन यस्तो अवस्थाको छ कि औँलामा गनिने मानिसले थोरै लोभ त्यागिदिने हो भने सवैथोक आफैँ मिलेर जान्छ । यहाँ राजनीतिक दलले जित्ने, देश हार्ने प्रतिस्पर्धाले घर गर्याे ।
नेताको मलद्वारलाई हरिद्वार मान्ने दास जन्माउने होडबाजीमा नेताहरू लागे । सत्ता बाहिर हुँदा पशुपति स्वयम्भूका बाँदरको समेत ट्रेड युनियन बनाउन खोज्ने नेतृत्व सत्तामा पुगेपछि तिनीहरूकै चक्रव्यूहबाट निस्कन सक्दैनन् । यसैको परिणाम अहिले प्रचण्डका लागि माओवादीको नायकत्व जागिर सकुशल राख्ने एउटा कडी मात्र भएको छ ।
शहरी नुनको प्रभावले माओवादीजस्तो कि गर, मरको हुकुमी दर्शनमा हुर्किएका असली कार्यकर्ताहरू विभिन्न आवरणमा अलप भएका छन् । बरु अवसरवादी चैते वर्ण शङ्कर सन्तानको आवादीमा माओवादी जमिन सिञ्चित छ । माओवादका प्रणेता माओत्सेतुङले जनताबाट सियो पनि लिनु हुँदैन भनेर सिकाए तर उनैका अनुयायी हाम्रा माओवादीहरूले देशको ढुकुटीमा सङ्गठित आक्रमणलाई संस्थागत तुल्याए । काँग्रेस-एमालेले अक्षरशः त्यही सिके ।
सत्ता बाहिर हुँदा पशुपति स्वयम्भूका बाँदरको समेत ट्रेड युनियन बनाउन खोज्ने नेतृत्व सत्तामा पुगेपछि तिनीहरूकै चक्रव्यूहबाट निस्कन सक्दैनन् । यसैको परिणाम अहिले प्रचण्डका लागि माओवादीको नायकत्व जागिर सकुशल राख्ने एउटा कडी मात्र भएको छ ।
नेपाल एउटा विश्वको त्यस्तो नमुना देश हो, जहाँ पुलिसले अपराधी समात्दा, पत्रकारले कुनै एउटा राम्रो समाचार लेख्दा, न्यायाधीशले राम्रो फैसला गर्दा, कुनै नेताले विकासवादी भाषण ठोक्दा, कर्मचारीले तोकेको काम गर्दा त्यो हिट समाचार बन्छ । यसको अर्थ के हो भने हरेक मानिसहरू आफ्नो स्वधर्मभन्दा अलग पेसामा पारङ्गत छन् ।
सफल राजनेता आफू साधारण जीवन बाँचेर जनतालाई असाधारण जीवनशैलीमा पुर्याउन अहोरात्र खट्छन् । तर हामी कहाँ राजनीति कहिल्यै अवकाश लिन नपर्ने जागिर भएको छ । एउटा माकुराले आत्महत्या गरेछ । मर्नुअघि उसले लेखेको सुसाइड नोटमा लेखिएको थियो- ‘जाल बुन्नमा मैले नेपालका नेताहरूको मुकाबिला गर्न सकिन ।’ संविधानलाई विश्वको उत्कृष्ट भन्ने तिनै नेताका लागि एक वर्ष नपुग्दै त्यो दस्ताबेज भिरको चिन्डो भएको छ ।
बाँदरले हाँगा लच्काउने मात्र हो, रुख भाँच्ने होइन । यो तागत ऊसंग हुँदैन । समाज बिग्रन नागरिक बीचको सम्बन्ध पो बिग्रनु पर्छ । थोरै त्यो सम्बन्ध नेताले तामो तुलसो छोएर गाँसिदिएको हो र ? नेता नामको पेपर टाइगरलाई साँच्चैको बाघ ठानेर तर्सनु आफनै मूर्खता सिवाय केही होइन । जो खुसी रहन चाहन्छ, उसलाई कसैले पनि दुखी बनाउन सक्दैन ।
जो दुखी रहन चाहन्छ, उ सुखमा पनि दुख खोजिरहन्छ । गुण एकान्तमा विकास हुन्छ भने चरित्र निर्माण सुंसारको कोलाहलमा हुन्छ । समाजमा देश जल्यो भनेर कुर्लिनेहरूको जमात बढ्यो । आफू आगो निभाउनु त कता हो कता बाल्टिनमा पानी लिएर जानेको बाटो छेक्ने र पेट्रोल खन्याउनेहरूको धुइरो लाग्दै गयो ।
समाज यस्तै अनियन्त्रित र अनुशासनहीन बन्दै गएपछि धमिलो खोलामा माछा मार्नेहरूको अनपेक्षित प्रवेश हुने हो । पर्खालको इँटा कसैले चोर्दैन, चलाउँदैन । जब इँटा बाटोमा छरिन्छ, त्यसलाई जसले पनि टिपेर घुयेँत्रो हान्छन् । जनतामा पनि त्यही एकता र सङ्कल्प जरुरी छ ।