के दसैँ आदिवासी जनजातिहरूको होइन ?

काठमाडौँ । खासगरी ०४६ सालको जनआन्दोलनपछि नेपालमा विभिन्न संस्कृति, भाषाभाषी तथा जातजातिमा सांस्कृतिक जागरण आयो । त्यही जागरणका कारण किराँत र लिम्बु समुदायले दसैँ बहिष्कार गर्न थाले । त्यहाँ उनीहरूको आफ्नै तर्क छ, भन्छन्— ‘दसैँलगायतका पर्वहरू हिन्दुहरूले हामीमाथि जबरजस्त लादेका हुन् ।’

त्यो समयताका उनीहरूले बहिष्कार अभियान नै चलाए । त्यसमा उनीहरू केही सफलसमेत भए । यसको प्रभाव अहिले पनि देखिन्छ । कतिपयले दसैँको टीका लगाउने छाडे त लगाउनेहरूले पनि सेतो टीका लगाउने गरेका छन् । ०४६ सालको जनआन्दोलनभन्दा अघिसम्म कतिपय किराँत समुदायका सदस्यहरूले पनि रातै टीका लगाउँथे । त्यसो त अहिले पनि किराँत समुदायभित्र पनि दसैँको रातो टीका लगाउनेहरु पनि केही नभएका भने होइनन् ।

आफूहरूले सेतो टीका लगाउनुको पछाडि आफ्नै किंवदन्ती रहेको उनीहरु बताउँछन् । उनीहरूकाअनुसार ‘त्रेतायुगमा दशमीका दिन भगवान् रामले रावण वध गरेर विजय हासिल गरेको मानिन्छ । यसलाई असत्यमाथि सत्यको विजयका रूपमा लिइन्छ र यही विजयमा खुसियाली मनाउन दसैँ शुरू भएको भनाइ छ । कतिपयले दसैँमा लगाइने रातो टीकालाई रावणको रगतको प्रतीकका रूपमा लिन्छन् । किराँतीहरूले भने रावणको रगतले मुछेको टीका आफूहरूले नलगाउने भनेर शान्तिको प्रतीकका रूपमा सेतो चामलको टीका लगाउने गरेका हुन् ।’

टीका नलगाइ नहुने नै हो भने सेतो नै लगाऔँ ।

रावण आफ्नो पूर्खा रहेको र यो किंवदन्ती थाहा भएपनि किराँत समुदायले दसैँलाई बहिष्कार नै गर्ने क्रम चलाएका छन् । उनीहरू आफूहरूमाथि ‘राज्यले सांस्कृतिक हस्तक्षेप गरेर दसैँ मान्न बाध्य पारेको’ को रूपमा बुझ्छन् । लेखक भगीराज इङ्नाम भन्छन्— ‘दसैँ हाम्रो होइन । हिजो करिब साढे २ सय वर्षअघि राज्यले सांस्कृतिक हस्तक्षेप गरेर किराँत तथा लिम्बुहरूलाई दसैँ मनाउन बाध्य पारिएको हो ।’

उसो त दसैँले आफूहरूमाथि सहिष्णु नराख्ने किराँत समुदायका सदस्यहरूले उहिल्यैदेखि नै बताउँदै आएका हुन । उनीहरू दसैँको मान्यता कहीँ पनि आफूहरूले अवलम्बन गरेको सांस्कृतिक मूल्यमान्यताहरूसँग मेल नखाने जिकिर गर्छन् । लेखक इङ्नाम दसैँ पृथ्वीनारायण शाहको राज्य विस्तारसँग जोडिएको बताउँछन्, भन्छन्— ‘यही कारणले दसैँ हाम्रो होइन । यसका पछाडि धेरै तर्क र विषयहरू छन् । यो पनि सुनाउन र पुष्टि गर्न सकिन्छ ।’

आदिवासीहरूले रातो टीका लगाउनु हुँदैन भन्ने मान्यता हिजो पनि भएको र आज पनि विद्यमान नै रहेको उल्लेख गर्दे लेखक इङ्नाम थप्छन्— ‘टीका नै लगाउनु छ भने सेतो नै लगाउँ भन्छु ।’

आदिवासी जनजातिहरूमा सांस्कृतिक चेत आएपछि योखाले बहस तथा छलफलको थालनी गरेको र यस्ता बहस तथा छलफलमाथि थप विचार/विमर्श जरुरत पर्ने संस्कृतिविद् प्रदीपकुमार राई ‘व्याकुल माइला’ बताउँछन् । यी विवादलाई नकारात्मक वा सकारात्मक दुवै रूपमा अर्थ्याउन सकिने उनको भनाइ छ ।

तर, ‘दसैँ हाम्रो होइन’ भनेर भनिहाल्ने स्थिति पनि नरहेको तर्क उनको छ । ‘सदियौँदेखि हामीले दसैँ बडो हर्षोल्लासका साथ मनाउँदै आएका छौँ,’ नेपाली राष्ट्रिय गानका रचतीयतासमेत रहेका राई भन्छन्, ‘यो एउटा उत्सव हो । आफन्तहरूसँग भेट्नु, ठूलाबडाहरूबाट आशीर्वाद लिनु त नराम्रो होइन नि । यो एउटा राम्रो संस्कार हो । यसलाई हाम्रो होइन भनिहाल्नु हुँदैन । यद्यपि बहस तथा विचार विमर्श हुनु जरुरी छ । सत्यतथ्य केलाउन जरुरी छ ।’

आर्य र किराँत सभ्यताको विकास हुँदैगर्दा आपसमा विभिन्न आरोप–प्रत्यारोपहरू भए पनि आज सामाजिक सहिष्णुता बढेको र यसको जगमा अहिलेको समाज उभिनुपर्ने तर्क राईको छ । ‘हिजो हामीलाई महिषासूर, दानव, असूरलगायत हामीलाई भनिएपनि अहिले आएर पुनः सांस्कृतिक विचलन ल्याइहाल्नु हुँदैन,’ राईको भनाइ छ, ‘यद्यपि त्यतिबेलाको हामीमाथिको यी आरोपहरूप्रति खेद छ ।’

आर्य समुदाय र किराँत समुदायले मनाउने गरेको दसैँलाई छुट्टाछुट्टै नै पनि अर्थ्याउन सकिने राईको भनाइ छ । अनावश्यक विवादमा नफसी आर्य समुदाय र किराँत समुदायले मान्ने गरेको दसैँमा केही भिन्नतासमेत रहेको उदाहरण दिँदै राई भन्छन्— ‘यो पनि त यसको एउटा मिलनबिन्दु हो नि । यसले पनि सामाजिक रूपमा समानता ल्याउन सक्छ । टीकाको रङ्ग नै फरक हुन्छ । आन्तरिक विधिहरू नै पनि फरक हुन्छन् । यसलाई यसरी लिँदा पनि हुन्छ ।’

टीकाको सन्दर्भमा भने राई सेतै लगाउनुपर्ने जोड गर्छन् । उनी भन्छन्— ‘यसका आफ्नै मान्यता र बुझाइ छन् । अब त हामीलाई पनि सेतै लगाउनुपर्छ भन्ने लाग्न थाल्यो । हिजो हाम्रा पूर्खाहरूले सिकाउनुभएको संस्कारमा सत्यता छ नै । यही अवलम्बन गर्नुपर्छ ।’

किराँती मिथकका जानकार खुक्सङ खम्बु राई ‘किराँत समुदायहरूले दसैँ मान्नु शुरू गर्नुको पछाडि राज्यको धुर्त्याइँ’ कारक रहेको आरोप लगाउँछन् । किराँत राई यायोख्खाका केन्द्रीय सदस्य तथा किराँत राई लेखक संघका अध्यक्षसमेत रहेका राई भन्छन्— ‘करिब २÷३ सय वर्षअगाडि राज्यले आदिवासी जनजाति समुदायमाथि सांस्कृतिक हस्तक्षेप गरेर दसैँ मनाउन बाध्य पारेको थियो । त्यसपछि हाम्रा पूर्खाले बाध्य भएर दसैँ मनाउन थालेका थिए । त्यसपछि अल्लि पछि सेतो टीका चाहिँ आदिवासी जनजातिहरूको हो भन्ने स्थापित भयो । अहिलेका पुस्ताले यसरी दसैँ सबैको हो र हामीले चाहिँ सेतो टीका लगाउनुपर्छ भन्ने बोध गर्न थाले । यद्यपि सेतो लगाए पनि रातो लगाए पनि सन्देश त एउटै नै हो । वास्तवमा दसैँ किराँतीहरूको होइन ।’

कतिपयले दसैँ, रातो टीका र सेतो टीकाको विवाद वा बुझाइ राजनीतिक र प्रतिकात्मक सन्दर्भमा आएको बताउँछन् त कतिपयले यो खाली दाबीकै मात्रै कुरा रहेको सुझाउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *