नेकपासँगको सहमति कार्यान्वयनबारे गृहमन्त्रीद्वारा छलफल

काठमाडौँ ।  गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका विषयमा छलफल थालेका छन् । सहमति कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने भन्नेबारे गृहमन्त्री खाणले कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल गरेका हुन् ।

 बैठकमा अहिलेसम्म सहमति कार्यान्वयनका लागि भएका काम र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ । बैठकमा सहमतिको बुँदा नम्बर तीनमा रहेको ‘नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमत भएको छ,’ भन्ने विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

बैठकमा मन्त्री खाणले सहमति कार्यान्वयका लागि आफूले नेकपाका नेताहरूसँग गरेका वार्ता र उनीहरूको भनाइबारे जानकारी दिएका थिए । कानुन सचिव सापकोटा र महान्यायाधिवक्ता खातीले कस्ता मुद्दा खारेज गर्न मिल्ने र जेलमा रहेका कैदी बन्दीलाई रिहाइ गर्न मिल्नेबारे जानकारी दिएका थिए ।

 कानुन सचिव सापकोटाले गृह मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयबाट रिहाइका लागि सिफारिस मन्त्रालयमा आएका अधिकांश रिहाइ भइसकेको र केही फिर्ता गर्न नमिल्ने प्रकृतिका मात्रै बाँकी रहेको जानकारी गराएका थिए ।

फेरि सहमति कार्यान्वयनका लागि बाँकी रहेका विषयमा एक पटक छलफल गर्ने र तयारी पूरा भएपछि नेकपाका नेताहरूसँग बसेर टुङ्ग्याउने सहमति भएको पनि गृहमन्त्रीको सचिवालयले जनाएको छ । सरकार र नेपाल कम्युनिष्ट पार्टीबिच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो ।

नेकपाका नेताहरूले वर्तमान सरकार बनेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री खाणसहितलाई भेटेर अघिल्लो सरकारले गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *