१० बुँदेबारे एमालेमा विवाद:

ओलीलाई रावलको जवाफ- ‘१० बुँदे सहमतिकाे ११ तारे बिगुल हाे’

काठमाडौँ । गत असार २७ गते बनेको १० बुँदे सहमतिको प्रस्तावनालाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् ।

यसअघि बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले माधवकुमार नेपाल समूहबाट आफूतिर आएका रावललगायतका नेताहरूलाई इङ्गित गर्दै ‘१० बुँदे बाजा नबजाउन’ भनेका थिए । ओलीले भनेका थिए, ‘हिजो कताको केको यो १० बुँदे केजाति केजाति यो एकतारे बजाएर, गोविन्द दश बुँदे, दश बुँदे, दश बुँदे यो पनि धेरै गरिरहनु आवश्यक छैन । एकठाउँ मिलेर एकताबद्ध भएर अगाडि बढौँ न खुरूक्क ।’

ओलीले माधवले पार्टी फुटाएर गइसकेको अब १० बुँदेको कुनै औचित्य नभएको बताएका थिए । ‘अब कति बजाउने १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ, ट्यान्ड्याङ, माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो,’ ओलीले भनेका थिए ।

उपाध्यक्ष रावलले ट्वीटरमार्फत ओलीलाई जवाफ फर्काएका छन् । उनले १० बुँदेलाई सहमतिको बिगुल भनेका छन् । ‘१० बुँदे सहमति एकतारे होइन, पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे बिगुल हो,’ रावलले भनेका छन् । १० बुँदेकाे धुन स‌ंस्थागत भइसकेकाे रावलले बताएका छन् । ‘यसको धुन संस्थागत भइसकेको छ,’ रावलले भनेका छन्, ‘सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।’

१० बुँदे सहमतिको प्रस्तावनालाई लिएर एमालेमा विवाद शुरू भएको छ । माधव समूहबाट एमालेमै रहेका नेताहरूले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गर्न थालेका छन् । यद्यपि ओलीले भने अब त्यसलाई थाँती राखेर मिलेर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *