एमाले वडा अधिवेशन : ‘वार रुम’ मा ओलीसँग २ लाख बढी सदस्य जोडिने

काठमाडौँ । नेकपा (एमाले) ले देशभरका करिब ६ हजार वडामा एकैपटक पहिलो अधिवेशन गर्दैछ । एमालेले यसको शुभारम्भ एकैपटक केन्द्रीय कार्यालयबाटै गर्दैछ । अध्यक्ष केपी शर्मा ओलीले सबै वडाको अधिवशनको उद्घाटन भर्च्यूअल रूपमा गर्दैछन् । जहाँ, अध्यक्ष केपी शर्मा ओलीसँग २ लाखभन्दा बढी सदस्यहरू जोडिने कार्यालय सचिव शेरबहादुर तामाङले बताए । त्यसका लागि आवश्यक गृहकार्य भइरहेको तामाङले बताए । ‘त्यो व्यवस्था मिलाइँदैछ,’ सचिव तामाङले भने, ‘२ लाखभन्दा बढी सदस्यहरू जोडिनुहुन्छ ।’

एउटा वडामा मात्र अध्यक्ष भौतिक रूपमा उपस्थित भएर उद्घाटन गर्नुभन्दा देशभरका सबै वडाहरूको अधिवेशनलाई एकैचोटी शुभारम्भ गर्नु राम्रो भएको भन्दै एमालेले यस्तो व्यवस्था मिलाएकाे हाे । ‘सबै अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’ मा जोडेर समुद्घाटन गरिनेछ,’ सचिव तामाङले भनेका छन् ।

ओलीले अधिवेशन उद्घाटन गर्दै शुभकामना मन्तव्य दिनेछन् । केन्द्रीय कार्यालयमा वडा अधिवेशनको ब्यानर राखेर अध्यक्ष ओलीसँगै केन्द्रीय नेताहरू बस्नेछन् । इन्टरटेन पहुँच भएका सबै वडा अधिवेशनस्थलमा जूम आइडीको लिङ्क पठाइने सचिव तामाङले बताए ।

केन्द्रीय कार्यालयको तर्फबाट सचिव तामाङले बिहीबार नै सबै जिल्ला कमिटीहरूलाई वडा अधिवेशनको विधिबारे मापदण्ड पठाइसकेका छन् । प्रत्येक वडामा जिल्ला कमिटीले खटाएका एकजना सदस्य अनिवार्य उपस्थित हुनेछन् ।

सर्कुलरमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न भनिएको छ । राज्यको पुनःसंरचनापछि पहिलोपटक स्थानीय तहका अधिवेशन हुन लागेकाले एमालेले अधिवेशनको संख्या पहिलो भन्न निर्देशन दिएको छ ।

यसअघि एमालेका वडा कमिटी, गाउँ कमिटी,इलाका कमिटी र नगर कमिटीहरूका अधिवेशन भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *