एमालेमा बढ्यो प्रभुको सक्रियता

काठमाडौँ । पूर्वमाओवादी नेता प्रभु साह एमालेमा सक्रिय हुन थालेका छन् । एमालेले आफूनिकट दुई नेताहरूलाई केन्द्रीय सदस्य बनाएपछि साहले एमालेमा सक्रियता बढाउन थालेका हुन् ।

नेता सुवास नेम्वाङ्गकाअनुसार ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली, प्रभु साहलगायतका नेताहरू झापा पुग्दैछन् । ‘अध्यक्ष कमरेडसँगै प्रभु साह कमरेडहरू पनि आउँदै हुनुहुन्छ,’ नेता नेम्वाङ्ले भने, ‘साढे १० को अवतरण समय थियो । केही ढिलोगरी मात्रै आउने हुनुभयो । अब अवतरण गर्दै हुनुहुन्छ । ११ बजे आइपुग्नुहुन्छ ।’

साह ओलीसँगै झापामा विभिन्न कार्यक्रममा सरिक हुनेछन् । नेता नेम्वाङ्गकाअनुसार झापाका विभिन्न ठाउँमा आयोजना हुने राजनीतिक कार्यक्रममा ओली र साह सँगै सहभागी हुनेछन् । ओलीसँगै लेखराज भट्टलगायतका नेताहरू पनि झापा पुग्दैछन् ।

गत महिना ८ बुँदे सर्त राखेर एमालेको विधान महाधिवेशनसमेत बहिष्कार गरेका साह अन्ततः एमालेमा सक्रिय भएका हुन् । यसअघि बसेको एमाले स्थायी कमिटी बैठकले साहनिकट नेताहरू रौतहटका कुन्दन कुशवाह, बाराका मोहम्मद समीरलाई केन्द्रीय सदस्य बनाएको छ । यसपछि राजनीतिक रूपमा खुसी भएका साहले एमालेमा सक्रियता बढाउन थालेका हुन् ।

पूर्वमाओवादी नेता रहेका साह ०७७ फाग्न २३ मा सर्वोच्चले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि एमालेको कित्तामा उभिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *