तल्लो तहबाटै राम्रो नेतृत्व चुनिए माथिल्लो तहको व्यक्तिवादसँग जुध्न सकिन्छ : भुसाल

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले पार्टी निर्माणको प्रक्रियामा वडा तथा पालिका (तल्लो) तहबाटै सही नेतृत्वको छनौट हुनुपर्नेमा जोड दिएका छन् । गत शनिवार सबै वडामा सम्पन्न एमालेको अधिवेशनलाई स्मरण गर्दै भुसालले वडा तथा पालिका तहबाटै सही नेतृत्व चुनिएको खण्डमा केन्द्रमा देखिएको व्यक्तिवादलगायतका समस्याहरूलाई समेत ‘टक्कर’ दिन र खबरदारी गर्न सकिने उल्लेख गरेका छन् ।

वडा तथा पालिकास्तरको नेतृत्वमै क्रान्तिकारीता र लोकतान्त्रिक चरित्र हुनु जरुरी रहेको भुसालको भनाइ छ । ‘पालिकास्तरको नेतृत्वको क्रान्तिकारी र लोकतान्त्रिक चरित्रको ग्यारण्टी गर्न सकियो भने माथिल्लास्तरमा आउन सक्ने विचार तथा सिद्धान्तहीनता र त्यसले उत्पन्न गर्ने व्यक्तिवाद, अराजकतावाद, दक्षिणपन्थजस्ता खतरासँग सजिलै जुुध्न र परास्त गर्न सकिन्छ ।’

मंगलबार (भोलि) एमालेको पालिका अधिवेशन हुँदैछ । यसको शुभकामना दिँदै भुसालले थपेका छन्, ‘अधिवेशनहरूमा क्रान्तिकारी, लोकतान्त्रिक तथा समावेशी कमिटीहरूको निर्वाचन हुने कुुराको औधी महत्व छ । यो जरुरी छ ।’

भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति इङ्गित गर्दै ‘व्यक्तिवाद’ को प्रसङ्ग जोडेका हुन् । तत्कालीन एमाले नेता माधवकुमार नेपालसँग नजिक रहेका भुसाल अहिले एमालेमै छन् । नेपालले एकीकृत समाजवादी पार्टी बनाउँदा एमालेमै फर्किएका भुसाल पछिल्लो समय १० बुँदे सहमतिको प्रस्तावनालाई लिएर ओलीसँग असन्तुष्ट छन् ।

ओलीले १० बुँदेको कुनै औचित्य नरहेको र त्यसलाई घरीघरी ‘नबजाउन’ भनेपछि भुसालसँगै पार्टी उपाध्यक्ष भीमबहादुर रावललगायतका नेताहरू रुष्ट छन् । उनीहरूले गत असार २७ गते बनेको १० बुँदे अक्षरसः कार्यान्वयन हुनुपर्ने माग राखेका छन् । ओलीले भने ‘नेपाल फर्किन्छन् कि भनेर मात्रै बनाएको’ बताउँदै आएका छन् ।

ओलीले पार्टीमा व्यक्तिवादी चरित्र देखाएको भन्दै उनकै पार्टीका कतिपय नेताहरूले आरोप लगाउँदै आएका छन् । यो विषय गत असोज १७ गते सम्पन्न पहिलो विधान महाधिवेशनमा समेत उठेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *