बिगार्ने मुहान, टाल्ने चुहान
नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने विषयमा बैठक बसिरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा विजय गच्छदार, केपी शर्मा ओली गोकुल बास्कोटा, प्रचण्ड जनार्दन शर्माको पक्षमा जबरजस्त उभिएपछि बैठक भाँडियो । बैठकले ‘आफू ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो’को रूप धारण गरेपछि चलाख प्रधानमन्त्री देउवाले बैठकलाई जाँड पार्टीमा रूपान्तरण गरिदिए । अनि त बैठकको दृश्य एकाएक रसरङमा परिवर्तन भयो ।
शेरबहादुर देउवा : के भने देखिनलाई मेरो नेता बिपी यस्तो बहादुर हुनुहुन्थ्यो कि महाकाली नदीमा डुबेर कर्णाली नदीबाट फुत्त निस्कनुहुन्थ्यो ।
केपी ओली : पाईँका नेता के बहादुर मेरा नेता मदन भण्डारीको त कुरै बेग्लै । पानी ट्याङ्कीमा पसेका मदन धाराको टुटीबाट निस्कनुहुन्थ्यो ।
प्रचण्ड : तपाईँहरूका कुरामा पटक्कै दम भएजस्तो लागेन । लौ सुन्नुस् मेरा नेता माओका बालाई एक पटक यस्तो भुंग्रे ज्वरो आयो उहाँकी आमा बाको गालामा हरियो मकै पोलेर परिवारलाई ख्वाउनुहुन्थ्यो ।
बिग्रिएको घडीले पनि दिनको दुईपल्ट एकुरेट समय बताउँछ । तर बद्लिएको व्यवस्थाका नबद्लिएका नेताहरूले जिन्दगीभर आफ्नाेनो नामबाहेक अरू केही साँचो बताउने भएनन् । यी प्राइभेट लिमिटेड पार्टीका महाप्रबन्धकहरूले सहमतिको आवरणमा यस्तै तोरीलाउरे गफमा वर्षौंदेखि समय मिल्काइरहँदा देश अस्थिपञ्जर बन्दै गइरहेको छ । पहिला पहिला सरकारी बैंकहरुमा नोगजा (नोट गर्न जान्ने) एउटा पद थियो । नेपालका हरेक निकायका मुखियाले अघोषित रूपमा नोट गन्न जान्ने कारोबारी राखेका हुन्छन् । यो वा त्यो व्यवस्था र व्यक्तिको विषय नभएर यो खुल्ला सत्य हो । पुलिसको चौकी इन्चार्ज-आइजिपी, डिट्ठा-प्रधानन्यायाधीश, वडा सदस्य-प्रधानमन्त्रीसम्म यो मामलामा कोही निरपेक्ष छैनन् ।
देउवा, ओली र दाहाल यस्ता पात्र हुन, जो आफ्नो ताज बचाउन अरबमा सौदा खेल्न सक्छन् । अरबौं हान्न सक्छन् । करोडौं बाँड्न सक्छन् । ती पार्टीका अरू नेतामा यो कौशल शून्य छ । त्यसैले रोग, भोक र शोकले जति गाँजेपनि उनीहरूको साम्राज्य एकछत्र छ ।
काम गर्न सजिलो या नैतिक मर्यादाका कारण नभई आफू अनुकूलको किलो गाड्न यस्ता कसरत हुने गरेका छन् । गोकुल बास्कोटा ओलीका नोट गन्न जान्ने प्रतिनिधि हुन् । प्रचण्डका कृष्णबहादुर महरा र शेरबहादुर देउवाका विमलेन्द्र निधि यही कोटीका पात्र हुन् । यिनीहरू महादेवको घाँटीमा बेरिएको सर्पजस्ता हुनुको कारण स्वामी भक्ति नै हो । जब एउटा वडा सदस्य पदमा बाजी मार्न लाखौँको सौदा गर्नुपर्छ भने देशभरिका कार्यकर्ताको मुखिया हुने काम नेताहरूका लागि सजिलो छैन । राष्ट्रिय पार्टीको हेडसरले सानोतिनो राष्ट्र बैंकको शाखाले चलाउने बराबरको आर्थिक औकात राख्नैपर्छ । नेपालमा एउटै मान्छे उम्रेदेखि खुम्रेसम्म किन पार्टीको शासक बन्छ भन्ने प्रश्नको उत्तर यही मनोविज्ञानसँग गाँसिएको छ । बिहान नेतासँग भत्ता बुझेर दिउँसो सदाचारको नारा दिने कार्यकर्ताबाट पालित पोषित लोकतन्त्र नै त हाम्रो असली परिचय हो । देउवा, ओली र दाहाल यस्ता पात्र हुन, जो आफ्नो ताज बचाउन अरबमा सौदा खेल्न सक्छन् । अरबौं हान्न सक्छन् । करोडौं बाँड्न सक्छन् । ती पार्टीका अरू नेतामा यो कौशल शून्य छ । त्यसैले रोग, भोक र शोकले जति गाँजेपनि उनीहरूको साम्राज्य एकछत्र छ । माधव नेपालको इतिहास बैंक जागिरेबाट शुरु भएपनि उनी कुशल म्यानेजर कम, खजान्ची ज्यादा देखिए । रामचन्द्र पौडेलको क्यालकुलेटरले हजारमाथिको हिसाब गर्नै जान्दैन ।
नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टी नेताले घोषित अघोषित शैलीमा सघाएका छन् । यो महाअभियानलाई कसैले बोलेर सघाएका छन् भने कसैले मौन बसेर । जसरी फलाम आफूभित्रै निस्कने खियाबाट सखाप हुन्छ, त्यसरी नै देशलाई अधोगतितर्फ लान यहीँका गतिविधि जिम्मेवार छन् । अरुलाई दोष दिनु भनेको आफ्नो कमजोरी छोप्ने धृष्टता सिवाय केही होइन । इतिहास साक्षी छ- राजा त्रिभुवनका सेक्रेटरी गोविन्दनारायण भन्ने भारतीय नागरिक थिए । त्यसबेला तराईका पाठशालामा हिन्दी भाषामा पढाई हुन्थ्यो । देशभर भारतीय मुद्राको विनिमय सहज थियो । प्रत्येक मन्त्रालयमा भारतीय नागरिक सल्लाहकार थिए । प्रधान न्यायालयको स्थापना भारतीय नागरिक हरिप्रसाद प्रधानलाई प्रधानन्यायाधीश बनाएर गरिएको थियो । उत्तरी चेकपोस्टमा भारतीय सुरक्षाकर्मी राखिएका थिए । प्रत्येक मन्त्रालयमा भारतीय सल्लाहकार थिए । अरू त अरू मन्त्रिपरिषद्को बैठकमा समेत भारतीय दूतको उपस्थिति रहन्थ्यो । अहिले यी निकायमा नेपालीको प्रतिनिधित्व छ ।
कानले हेरेर न्याय दिने संवेदनशील ठाउँका न्यायमूर्तिहरुको नियुक्तिको मापदण्ड पावर, पैसा र राजनीतिक प्रभावलाई बनाइयो । न्यायालयमा रोपिएको विषवृक्षमा फलेको फलले बिरुवा हुर्काउने नर्सरीवालाहरू नै सिकार बन्ने निश्चित छ । त्यो बेला नीलकण्ठ विष आफूले खाएर कल्याण गर्ने महादेव यो धरामा निस्कने छैनन् ।
सार्वभौम नेपाली जनताले जिताएर पठाएकाले सरकार चलाएका छन् । देश विदेश पढेका उम्दा प्रतिभाहरू राष्ट्रसेवक छन् । भाषा, साहित्य, संस्कृति समृद्ध छ । चेतनाको स्तर कोहीभन्दा कम छैन । तर दलालीको प्रतिशतको पारो यसरी बढेको छ कि त्यो घोषित अवस्थालाई अहिलेको अघोषित अवस्थाले लाभाले जस्तै खग्रास बनाएको छ । तिनै भारतीय भनिने हरिप्रसाद प्रधानले सर्वोच्च अदालतको मानमर्दन गरेको अभियोगमा डिल्लीरमण रेग्मीजस्ता राजनीतिज्ञलाई ६ महिनाको जेल सजाय सुनाएका थिए । चार पासेले ढपक्कै ढाकेको प्रधान न्यायालयमा कानुनमा स्नातक नगरेकालाई अयोग्य करार गरी न्यायालयको प्राज्ञिक मर्यादा माथि उठाए । विवाहित छोरीलाई सन्तान नठान्ने कानुन खरानी बनाएर छोरीलाई अपुताली सम्पत्तिको हकवाला बनाए । काम गर्ने नागरिकताले नभएर नियतले हो । सात दशकअघि न्यायालयमा गरिएका यस्ता सुधार कसैका लागि अनुकरणीय भएन । बरु कानले हेरेर न्याय दिने संवेदनशील ठाउँका न्यायमूर्तिहरुको नियुक्तिको मापदण्ड पावर, पैसा र राजनीतिक प्रभावलाई बनाइयो । न्यायालयमा रोपिएको विषवृक्षमा फलेको फलले बिरुवा हुर्काउने नर्सरीवालाहरू नै सिकार बन्ने निश्चित छ । त्यो बेला नीलकण्ठ विष आफूले खाएर कल्याण गर्ने महादेव यो धरामा निस्कने छैनन् ।
राजनीतिभित्र पसेको राक्षसी सोचका कारण आज हरेक सर्वसाधारण दिनमा दर्जनौं पटक मरेर बाँच्न बाध्य छन् । कलेजका प्राध्यापक कुटिएका छन् । हाकिमलाई पियनले लघारेका छन् । प्राध्यापकहरू आफ्ना छोरा उमेरका तिते भुराको अपमान सहन बाध्य छन् । देउता खुसी पारेर पेट भर्ने पुजारी देउतैको मूर्तिको मोलमोलाइमा उम्लिएका छन् । चालकहरू पाखा लागेका छन्, हरेक गाडीको स्टेयरिङ खलासीले समाएको छ । अस्पतालमा रोगी भर्नाका लागि समेत सोर्स लगाउनु पर्छ । जताततै न्याय मरेको छ । सत्यको पक्षमा बोल्नु भनेको अपराध गर्नु हो भन्ने बुझाइले आम मानिसमा घर गर्दै गएको छ । अबोलाको पीडा बोल्ने सञ्चार जगत समाचार कम, त्रास बाँड्न व्यस्त छ । त्यही भएर देशका ठूला मिडिया हाउसभन्दा युट्युब चलाउनेहरूमाथि जनताको भरोसा बढ्दो छ । पहिला सित्तैमा समोसा खान पत्रकार बन्नेहरू थिए भने अहिले त्यो गोरखधन्दामा अनुवाद भएको छ । कार्यकर्तालाई बेइमानीको वरदान दिएर आफू भगवान् शिवको कोटीमा पुगेको भ्रममा मख्ख परेका नेता आखिर भस्मासुर ज्यादती भोग्न बाध्य भएका छन् ।
अरू त अरू राजनीतिक अराजकताको प्रभाव नेपाली भाषामा पनि परेको छ । प्राज्ञिक समुदायको विशिष्ट थलो मानिने प्रज्ञा प्रतिष्ठानले निकालेको बृहत् शब्दकोशबाट धेरै शब्दावलीको चीरहरण भएको छ । कुखुराको फुल र गुलाफको फूल समान बनाइएको छ । एक वर्षअघि त्यही शिक्षकले पढाएको नियम घोकेका विद्यार्थी एक वर्षपछि सरले नियम बदल्दा रनभुल्ल परेका छन् । यसरी खेलाडी नालायक भएको दोष खेलको नियम फेरेर कमजोरी लुकाउने नौलो संस्कृति हाबी बन्दै गएको छ । जब नेताहरू पुलिसको सुरक्षा र साइरनमा आफूलाई अभ्यस्त गराउँछन्, त्यो दिनदेखि उनीहरूको पतन शुरु भयो भनेर जाने हुन्छ । देशमा नैतिकता र राष्ट्रियताको चुरो कमजोर बन्दै गएपछि मानमर्दनका खेल स्वाभाविक बन्दै जान्छन् । नेता श्रद्धेय, बन्दनीय बन्न राष्ट्रियताको जग मजबुत हुनुपर्छ ।
नेताहरू चरम विलासी बन्दै गए । सिसाको घरमा बसेर गिट्ठा, भ्याकुर, क्रान्ति गफमा जनता भुलाउने उनीहरूको खेल दिन दुईगुना, रात चारगुनाका दरले बढ्दै गयो । राजा महाराजालाई सामन्ती भन्दाभन्दै कार्यकर्ताका नजरमा नेताहरू महासामन्ती बन्दै गए । नेताहरूको जीवनशैली, आहारविहार बद्लियो ।
चारवटा गणले छेकिएका राजा वीरेन्द्र र रानी क्षतविक्षत भएर मारिए । तर उनीहरूको सुरक्षामा बसेकाहरूले प्रतिकारमा तिहारमा पड्काउने जत्रो पड्का पनि पड्काएनन् । आफ्नै आँखाले यस्तो कटु सत्य देखेका, भोगेका नेताहरूका लागि एउटै मात्र जीवन सूत्र हो- नैतिकता । नेताले लोकप्रिय बन्नुपर्छ, चर्चित होइन । जनताका नेतालाई घरबास चाहिँदैन । उनीहरुलाई आफ्नाे मजेत्रो ओढाएर जनताले चिसो तातोबाट बचाउँछन् । उरुग्वेका राष्ट्रपति जोस मुजिका यति सरल छन्, तीनवटा कुकुर र दुईजना पुलिसको सुरक्षामा बस्छन् । जीर्ण फर्म हाउसमा बास बस्ने उनी कुवाबाट आफैँ पानी भर्छन् । कपडा आफैँ धुन्छन् । फूलको खेती आफैँ गर्छन् । असल हुने मान्छे हो, पद होइन । अमेरिकाजस्तो वैभवशाली राष्ट्रका तत्कालीन राष्ट्रपति जोन अफ केनेडी देशको पैसा जोगाउन चिट्ठीको खाम थुक लगाएर बन्द गर्थे । अरू देशमा पनि राजनीति अस्थिर छ । मान्छे मारिएका छन् । श्रीलङ्कामा डेढ लाख मानिस मारिए । अफगानिस्तान, पाकिस्तान, इजरायल जताततै मान्छे मारिएका छन् । भिडन्त भएका छन् । तर त्यहाँको शिक्षा र प्रशासन संयन्त्र अलिकति पनि हल्लिएको छैन । सानो देश भएर के भो, श्रीलङ्काको शिक्षा एसियामै उत्कृष्ट छ । हाम्रो चाहिँ देशका सम्पूर्ण संयन्त्र खरानी पार्नैपर्ने, आखिर किन ?
झ्याल र जस्केलाबाट पसी दूध घोप्ट्याएर उपद्रो मच्चाउने कांग्रेस एमालेको बिरालो शैलीलाई उछिनेर माओवादीले मूल ढोकाबाटै पसेर ढुकुटीमा धावा बोल्यो । नेताहरू चरम विलासी बन्दै गए । सिसाको घरमा बसेर गिट्ठा, भ्याकुर, क्रान्ति गफमा जनता भुलाउने उनीहरूको खेल दिन दुईगुना, रात चारगुनाका दरले बढ्दै गयो । राजा महाराजालाई सामन्ती भन्दाभन्दै कार्यकर्ताका नजरमा नेताहरू महासामन्ती बन्दै गए । नेताहरूको जीवनशैली, आहारविहार बद्लियो । सातु र ठेटना मकैबाट शुरु भएको इतिहास पपकर्न र काजुकिसमिसतर्फ रूपान्तरण भयो । राजनीतिमा जसले बढी जाली कुरा गर्नसक्छ, त्यो ठूलो नेता बन्ने नजिर स्थापनामा सबै दलका नेताहरूलाई प्रतिस्पर्धामा उतार्न प्रचण्ड सफल भए । नेताहरूले आफूले जे गर्याे, त्यसैलाई लोकसम्मत ठान्ने अहं नत्यागेसम्म फलाममा लागेको खियाले फलाम सिध्याएजस्तै हरेक दलका नेता आफ्नै कार्यकर्ताको कठघराबाट मुक्त नहुने निश्चित छ । आजसम्म सधैँ, सबैलाई कसले पो झुक्याउन सकेको छ र ?