लगातार दोस्रो जितसँगै पाकिस्तान सेमिफाइनलतर्फ

काठमाडौँ । युएइमा जारी टी-ट्वेन्टी विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । यससँगै पाकिस्तानको सेमिफाइनल यात्रा बलियो बनेको छ ।

पहिलो खेलमा भारतलाई १० विकेटले हराएको पाकिस्तानले दोस्रो खेलमा अर्को बलियो दाबेदार न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्योे ।

समुह दुईमा लगातार दोस्रो जितसँगै पाकिस्तान ४ अंकका साथ शिर्ष स्थानमा छ । राम्रो रनरेटमा जित निकालेको अफगानिस्तान २ अंकका साथ दोस्रो स्थानमा छ।

अब पाकिस्तानले अफगानिस्तान र स्कटल्यान्डसँग खेल्ने छ। पाकिस्तान बाहेक अन्य सबै टीमले समान १ खेल खेलेका छन् । जितविहिन रहेका न्युजिल्यान्ड, भारत र स्कटल्यान्ड समान १ हारका साथमा तेस्रो चौंथो र पाँचौं स्थानमा छन् ।

टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र जोड्न सक्यो । जवाफमा पाकिस्तानले ८ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डका लागि ड्यारी मिचेल र डभोन कनवेले समान २७ रन बनाए । त्यस्तै कप्तान केन विलियमसनले २५ रन बनाउँदा मार्टिन गुप्टिलले १७ रन बनाए। त्यस्तै ग्लेन फिलपले १३ रनको योगदान दिए ।

पाकिस्तानका लागि हरिस रौफले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २२ रन दिएर ४ विकेट लिए। उनी प्लेयर अफ द म्याच भए । त्यस्तै मोहम्मद हाफिज, सहिन शाह अफ्रिदी तथा इमाद वासिमले १-१ विकेट लिए ।

जवाफमा पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले ३३ रन बनाउँदा सोएब मलिक र असिफ अलिको साझेदारी निर्णायक रह्यो । मलिक र अलीले छैटौं विकेटका लागि २३ बलमा ४८ रनको साझेदारी गरेका थिए ।

मलिकले २० बलमा २७ रनको अविजित इनिङ खेल्दा असिफले पनि १२ बलमा ३ छक्काको सहयोगमा २७ रनमै अविजित रहे । पाकिस्तानका लागि त्यसअघि ओपनर बाबर अजाम ९ रन तथा फकर जमान, मोहम्मद साफिज र इमाद वासिमले समान ११-११ रन बनाएका थिए ।

न्युजिल्यान्डका लागि इसा सोदिले २ विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्ट, मिचेल सान्टनर, टिम साउदी, ट्रेन्ट बोल्टले समान १-१ विकेट लिए । एक समय ८७ मा ५ विकेट लिएपछि पाकिस्तानको इनिङ धर्मराएको थियो । तर सोएब र असिफले सुझबुझपुर्ण ब्याटिङ गर्दै पाकिस्तानको संकट टारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *