प्रतिनिधि सभा बैठक आज, एमाले नाराबाजीबाट पछि हट्ला ?

काठमाडाैँ । प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो ।

यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि आजका लागि सारिएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक त्यस दिन नगरेर आजका लागि सारिएको थियो ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्ने सम्भावित कार्यसूची छ ।

एमाले नाराबाजीबाट पछि हट्ला ?
यसअघि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीले कारवाहीको पत्र सभामुख अग्नि सापकोटालाई दिए पनि सभामुखले कारबाहीको प्रक्रिया अघि नढाएपछि एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।

पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने एमालेको माग छ । सभामुख अग्निप्रसाद सापकोटाले यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भनेर एमालेलाई सम्झाइरहेका छन् । तर, निकास ननिस्कँदा पुरै अधिवेशन प्रभावकारी हुन सकेको छैन । निकास खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ गठबन्धन, सभामुख अग्निप्रसाद सापकोटाले केही पहल गरेका छन् । तर, उनीहरूको पहलले सार्थकता पाउन सकेको छैन ।

संसद्मा निरन्तर अवरोध र आफूविरुद्ध नाराबाजी भइरहेपछि सभामुख सापकोटाले २८ जेठ २०७८ मा संसद्मा रहेका दलको बैठक राखे । तर, एमाले सहभागी भएन । त्यसपछि सभामुख र सत्तारुढ दलहरू प्रतिपक्षीलाई पेलेरै अगाडि बढ्ने निष्कर्षमा पुगे र एमालेको नाराबाजीलाई बेवास्ता गर्दै बजेट पारित गरे ।

बजेट पारित भएपछि प्रधान मन्त्री शेरबहादुर देउवाले नै एमालेलाई मनाएर संसद् चलाउने प्रयत्न गरे । उनले तत्कालीन कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पटक-पटक एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको बालकोट पठाए । यो प्रयास पनि सार्थक हुन सकेको छैन । १४ सांसदलाई पार्टीले गरेको कारवाही सभामुखले अघि नबढाएसम्म संसद्मा नाराबाजी निरन्तर गर्ने एमालेको अडान छ ।

  • यो पनि

संसद्‌लाई जीवन्त र जनमुखी बनाउन प्रतिबद्ध छु : सभामुख सापकोटा
संसद्को गतिरोध अन्त्यका पाँच विकल्प
संसद् अवरोध : ओझेलमा कानून निर्माण

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *