अस्ट्रेलिया भर्सेस श्रीलंका : अनुभव भर्सेस युवा

काठमाडौँ । टी-ट्वेन्टी विश्वकपको २२औँ खेलमा बिहीबार अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समयअनुसार राति ७:४५ मा सुरू हुनेछ । अस्ट्रेलियाले यो विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकालाई र श्रीलंकाले पनि पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।

युवा खेलाडीले भरिएको श्रीलंकाले क्वालिफायरसहित शीर्ष १२ मा कुल चार खेल खेलेकोमा सबै खेलमा जित निकालेको छ । आज विजयी हुने टिमको सेमिफाइनल यात्रा बलियो हुनेछ ।

अस्ट्रेलिया र श्रीलंकाबीच इतिहासमा धेरै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल भएका छन् ।

वार्नरको खराब लयले टाउको दुखाइ
अस्ट्रेलियाका डेभिड वार्नरको लयको कुरा फेरि पनि महत्वपूर्ण हुनेछ । दक्षिण अफ्रिकासँगको खेलमा पनि उनको ब्याट गतिलो चल्न सकेन । उनले आईपीएलमा पनि गतिलो प्रदर्शन गर्न सकेनन् । जसका कारण उनलाई टीमबाट समेत बाहिर राखियो ।

तर, अस्ट्रेलियाका जोश हेजलवुडले चेन्नईलाई आईपीएल च्याम्पियन बनाउँदा राम्रो प्रदर्शन गरेका छन् । त्यस्तै मिचेल स्टार्क तथा प्याट कमिन्स श्रीलंकाको ब्याटिङ लाइनअपका लागि चुनौती बन्न सक्नेछन् । स्टिभ स्मिथको अनुभव र फर्म पनि अस्ट्रेलियाको बलियो पक्ष हो ।

राम्रो फर्ममा श्रीलंका
दासुन सनाकाको कप्तानीमा रहेको श्रीलंकाको टीम उत्कृष्ट फर्ममा छ । टीमले अहिलेसम्म प्रतियोगिताको क्वालिफायरसहित खेलेका सबै ४ खेलमा जित निकालको छ । दुबईको मैदानमा पहिले ब्याटिङ गरेर जित निकाल्ने श्रीलंका एक्लो टीमका रुपमा रहेको छ । श्रीलंकाले जारी विश्वकपमा बंगलादेशविरुद्ध १७१ रन भेट्टाएको थियो ।

कसले जित्ला खेल
कागजमा अस्ट्रेलिया सधैँ बलियो टिम हो । टीममा अनुभवी खेलाडीका आधारमा अस्ट्रेलियाको पल्ला भारी छ । तर वर्तमान फर्मलाई आधार मान्दा श्रीलंकाले लगातार दोस्रो जित निकाल्ने सम्भावना बलियो छ । टी-ट्वेन्टी अन्तरराष्ट्रियमा भलै दुवै टीमबीच ८ खेलमा बराबरी जितको अवस्था छ । तर कंगारु टीमले श्रीलंकासँगका पछिल्ला चार टी-ट्वेन्टीमा जित निकालको छ ।

टी-ट्वेन्टी विश्वकपमा ३ पटक प्रतिस्पर्धा भएकोमा अस्ट्रेलियाले २ खेलमा जित निकालेको छ । आजको खेलमा अस्ट्रेलियाका ब्याटरलाई श्रीलंकन स्पिनरको चुनौती कस्तो हुन्छ भन्ने कुराले पनि खेलको निर्णयमा फरक पार्न सक्नेछ ।

खेलमा बन्न सक्छन् यी कीर्तिमान
अस्ट्रेलियाका कप्तान एरोन फिन्चले अहिलेसम्म टी-२० क्रिकेटमा ३९९ छक्का प्रहार गरेका छन् । उनले एक छक्का प्रहार गरेमा ४०० छक्काको कोसेढुंगा पुरा गर्नेछन् ।

श्रीलंकाविरुद्ध ग्लेन म्याक्सवेलले ७ छक्का प्रहार गर्न सकेमा टी-२० अन्तरराष्ट्रियमा १०० छक्का पूरा गर्नेछन् ।

त्यस्तै लाहिरु कुमारा अन्तरराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गर्ने संघारमा छन् । उनले अस्ट्रेलियासँगको खेलमा ४ विकेट लिए सय विकेटको कीर्तिमान पूरा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *