प्रदेश १ : संविधान र नियमावली बाहिर जान्नँ : सभामुख

विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले संविधान र प्रदेश सभा नियमावलीभन्दा बाहिर गएर कुनै काम नगर्ने बताएका छन् ।

इतिहासकै पहिलो प्रदेश सभाको संस्थापक सभामुखको हैसियतले नीति‚ विधिभन्दा बाहिर गएर काम नगर्ने वचनबद्धता व्यक्त गरेका हुन् ।

संसदीय पत्रकार मञ्च प्रदेश १ को आयोजनामा संसदीय खुलापन र पारदर्शितामा उत्कृष्ट अभ्यासको अन्तरक्रियामा बोल्दै सभामुख भण्डारीले नियमावली र संविधानको बाहिर गएर कुनै काम नगर्ने बताएका हुन् । प्रदेश सभामा प्रतिपक्षी दलहरूले सभामुख सरकारको छायामा चलेको आरोप लगाउँदै आएका थिए ।

आफूले विधिअनुसार गरेको कामलाई संविधान र नियमावलीलाई आफ्नो अनुकूल व्याख्या नगर्न उनले आग्रह गरे । सभामुख भण्डारीले अभावका बीच सुरु भएको प्रदेश सभा अहिले अरु प्रदेशहरूकै उत्कृष्ट काम गर्दै प्रदेश सभा भवन बनाउन सफल भएको सुनाए । सभामुख भण्डारीले प्रदेश सभामा गरिने हरेक गतिविधि नागरिककै लागि भएकाले नागरिकका विषयमा सभाले निरन्तर काम गरेको बताए ।

‘नागरिकका कुरालाई प्रदेश सभामा राख्नका लागि प्रदेश सभा नियमावली बनाउने बेलामा नै शून्य समय १ मिनेट राखौँ भनिएको थियो‚ तर नागरिकका लागि त्यो समय थोरै हुने भनेर मैले नै ३ मिनेट राखौँ भनेर राखेका हौँ,’ सभामुख भण्डारीले भने, ‘नागरिकको समस्याको छलफल गर्ने थलो प्रदेश सभा भएकाले नियमावली बनाउँदादेखि नै हामी गम्भीर छौँ ।’

विधेयकबारे सरोकारवालासँग अन्तरक्रिया गर्न समिति सभापतिलाई भनिएको पनि उनले जानकारी दिए । सरोकारवालासँग अन्तरक्रिया गरेर कानून बनाउने अभ्यासको थालनी भएको स्वीकार गरेका सभामुखले त्यसरी बनाएका कानूनहरू कार्यान्वायन गर्न सजिलो हुने दाबी गरे । ३ वर्ष पुग्नै लाग्दा पनि समस्याहरू अझै उस्तै रहेको बताए ।

‘अहिले देखिएको भनेको प्रदेश सभाको निर्माणको कुरामात्र हो,’ उनले भने‚ ‘त्यस अतिरिक्त धेरै कामहरू बाँकी नै छन्‚ तर त्यसो भनेर उम्किन मिल्ल्दैन ।’ उनले भौतिक संरचनाको अभावका कारण काम गर्न असहज अवस्था रहेको, पार्किङ र मिडिया सेन्टरलगायतको व्यवस्थापन गर्न बाँकी रहेको उल्लेख गरे ।

विषयगत समितिको चयन नै ढिला भएकाले समितिले शुरुमा काम गर्न नसकेको र पछि पनि समिति बनेपछि कोरम पुर्‍याउन समस्या देखिएको सभामुखको भनाइ छ । उनले प्रदेश सभालाई कानून, नियमावली, संविधानसँगै, अभ्यास र सहमतिसँग जोडिएको थलोको रुपमा चित्रण गरेका छन् ।

‘विपक्षी आएन वा सरकार आएन भनेर संसद् चल्दैन भनेर कहाँ लेखेको छ ?’ उनको प्रश्न थियो, ‘मैले त सरकार नभएको बेलामा पनि त सदन चलाइदिएँ ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संसद्‌को खुलापनको एउटा सीमा‚ परिधि र आवश्यकताअनुसार नियम र विनियमलाई परिपालना गर्न पाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै संसदीय समिति‚ सामाजिक विकास समितिकी सभापति सरिता थापाले संसदीय समितिका बैठकहरूमा सभापतिले बोलाउन कन्जुस्याइँ नगरेको बताउँदै संघीय समितिका गतिविधिहरू दैनिक बाहिर गएको देखिए पनि प्रदेशका समितिले गरेका कामहरूले महत्व नपाएको औँल्याइन् ।

जनता समाजवादीका संसदीय दलका नेता जयराम यादव तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले संसद्‌मा उठेका विषयहरू सत्ता पक्ष र प्रमुख प्रतिपक्षभन्दा बाहिरका दलहरूलाई पनि सञ्चार माध्यमले स्थान दिनुपर्ने बताए । सांसद कुलप्रसाद साम्बा, लोकप्रसाद संग्रौलाले अहिलेको जनप्रतिनिधि छनौटको प्रक्रिया नै खर्चिलो भएको बताए । उनीहरूले निर्वाचनको विधि परिमार्जन गर्नेतर्फ सोच्नुपर्ने बेला आएकोमा जोड दिए ।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले प्रदेश सभाबाट ५५ वटा विधेयक पास भएको बताए । अहिलेसम्म २७५ वटा प्रदेश सभा बैठक बसेको छ । ती बैठकहरू ३०७ घण्टा ७ मिनेट बसेको उनले जानकारी दिए । सचिव पराजुलीले संसदीय गतिविधि नागरिकसम्म पुर्‍याउन प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक गर्ने गरिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *