तीन देशको राजदूतमा कुटनीतिक क्षेत्रका सम्मानित व्यक्तिहरू सिफारिस

काठमाडौँ । सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा. श्रीधर खत्रीलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

शर्मा यसअघि अमेरिकाका लागि राजदूत भइसकेका व्यक्ति हुन् । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । प्रा. खत्री परराष्ट्र मामिलाका जानकार हुन् । उनले विभिन्न पदमा रहेर परराष्ट्र मामिलाका क्षेत्रमा काम गरेको अनुभव छ ।

आचार्य पूर्वपरराष्ट्र सचिव तथा संयुक्त राष्ट्र संघका लागि न्यूर्योकस्थित नियोगका प्रमुख भइसकेका छन् । तीनै जना कुटनीतिक क्षेत्रका जानकार र सम्मानित व्यक्ति हुन् ।

तीनै जनाको नाम संसदीय सुनुवाइपछि एग्रिमोका लागि पठाइनेछ । एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ ।

  1. सरकारले यसअघि यी तीनवटै देशमा रहेका नेपाली राजदुतहरूलाई फिर्ता बोलाएकाे थियो । भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा. युवराज खतिवडा र बेलायतमा लोकदर्शन रेग्मी राजदुत थिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *