विराटनगरमा ५ अर्ब लगानीमा व्यापारिक कम्प्लेक्स बनाउने तयारी
विराटनगर । विराटनगर महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा २५ तल्लाको व्यापारिक कम्प्लेक्स बन्ने भएको छ । विराटनगर वडा न.९ मा रहेको गुद्रिबजार क्षेत्रमा रहेको १४ कट्ठा जग्गामा उक्त व्यापारिक कम्प्लेक्स बन्न लागेको हो ।
बुधबार विराटनगर महानगरमा आयोजित एक कार्यक्रमका बीच विराटनगर महानगर र प्रदेश सरकार प्रदेश नं.१ ले व्यापारिक कम्प्लेक्स बनाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्की , विराटनगर महानगरका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, वडा नं. ९ का वडाध्यक्ष विश्वनाथ भगतलगायतको उपस्थितिमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा.सरोज कोइराला र महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
परियोजनाको काम आगामी तीन महिनाभित्रै सुरुवात हुने बताइएको छ । स्वदेशी लगानी कर्ताहरूकै लगानीमा बन्ने उक्त कम्प्लेक्सका लगानी झण्डै ५ अर्ब रुपैयाँभन्दा बढीको हुने कार्यक्रममा जानकारी दिइएको थियो ।
कांग्रेस मुख्य सचेतक केदार कार्कीले प्रदेश १ को राजधानीका रुपमा रहेको विराटनगरले अन्तरराष्ट्रिय स्तरको व्यापारिक कम्प्लेक्स पाउनेमा आफु ढुक्क रहेको बताए । यो योजनाले शहरको सुन्दरता, स्थानीय आर्थिक उपार्जन हुनका साथै आर्थिक रुपमा विराटनगर महानगरसमेत सवल बन्ने कार्कीको भनाइ छ ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले नगरवासीको दीर्घकालीन हितलाई ध्यानमा राख्दै परियोजनालाई अगाडि बढाएको बताए ।
आधुनिक, सुविधा सम्पन्न र अन्तरराष्ट्रिय स्तरको व्यापारिक भवन बन्ने हुदा विराटनगर थप गतिशील शहरका रुपमा स्थापित हुने मेयर पराजुली बताउँछन् ।
व्यापारिक कम्प्लेक्स भवन तीन वर्षभित्र निर्माण भइसक्ने गरी निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली,२०७६ मा भएको कानुनी व्यवस्थाको आधारमा परियोना अघि बढ्ने प्राधिकरणका निर्देशक डा कोइरालाले बताए ।