अष्टलक्ष्मी-राजेन्द्र : सङ्गसङ्गैदेखि बेग्लाबेग्लैसम्म
राजनीतिमा यस्तो हुन्छ, स्वाभाविक रूपमा लिनुपर्छ : शाक्य
काठमाडौँ । नेकपा (एमाले) का दुई नेताहरू अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे कुनै बेला एउटै मोर्चामा ‘जिन्दावाद’ र ‘मुर्दावाद’ का नारा लगाउँथे । धेरै पनि भएको छैन, अढाई महिना अघिसम्म नै पनि दुवैजना एउटै पार्टी (एमाले) मै थिए । एमालेमा थिएनन् मात्र, एमालेको माधवकुमार नेपाल पक्षमा ‘दृढतापूर्वक’ उभिएकासमेत थिए ।
कुनै बेला शाक्य र पाण्डे दुवै शिक्षक थिए । राजनीतिमा लागेपछि अत्यन्तै निकट रहेर काम गरेका उनीहरू अहिले नदीका दुई किनाराजस्ता हुन पुगेका छन् । समय भनौँ वा निर्मम राजनीति, आफ्नै सहयात्री शाक्यको बहिर्गमनका लागि पाण्डे लाग्नुप¥यो । अर्थात् शाक्यलाई हटाएर पाण्डे मूख्यमन्त्री बन्न पुगे ।
तत्कालीन माले हुँदै एमालेको राजनीतिमा सँगसँगैजसो होमिएका शाक्य र पाण्डे धेरैजसो पार्टीभित्र पनि उस्तै खालको विचार र मान्यतामा रहे । कहिले रमाइला अनुभव सँगलो त कहिले दुःखका दिनहरू गुजारे ।
कुरा ०३६ सालको हो । काठमाडौँको नेवार परिवारमा जन्मिएकी शाक्यले पूर्णकालीन राजनीतिमा लाग्नका लागि घर नै छोडेकी थिइन् । त्यही समयमा शिक्षक सहकर्मीको रूपमा रहेका पाण्डे शाक्यलाई खोज्दै उनकै घर पुगे । त्यसबेला पाण्डेलाई शाक्यका दाजुभाइ तथा छिमेकीले ‘बहिनी (शाक्य) कहाँ लगिस् ?’ भनेर कम्तीमा आधा घन्टा नियन्त्रणमै राखेका थिए । त्यो कुरा आफूलाई पछि पाण्डेले सुनाएको र आफूलाई नराम्रोसमेत लागेको शाक्य सम्झिन्छिन् । ‘त्यो किस्साहरू म सम्झिन्छु,’ शाक्यले भनिन्, ‘राजेन्द्र मेरो साथी हो । अझ मेरो भाइ हो । हामी सँगसँगैजसो यही आन्दोलनमा रह्यौँ । ऊसँग कुनै पनि नराम्रो छैन । अहिले राजनीतिक रूपमा विभाजित भइयो । त्यो ठिक छ ।’
आज उनै शाक्य र पाण्डे प्रतिद्वन्द्वी बनेका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि शाक्य र पाण्डे आपसमा प्रतिद्वन्द्वीको रूपमा उभिए ।
गत कात्तिक ४ गते बसेको बागमती प्रदेश सभाको बैठकमा शाक्यपछि सम्बोधन गरेका पाण्डेले आफूहरूले तानासाहविरुद्ध मोर्चाबन्दी गरेको र तानासाहकै कारण पार्टी (एमाले) छोड्नुपरेको बताएका थिए । शाक्यको राजीनामा माग्दै पाण्डेले भनेका थिए— ‘म सोचिरहेको छु । तपाईं कुनै बेला केपी ओली प्रवृत्तिको ठूलो आलोचक हुनुहुन्थ्यो । तर, अहिले आएर उहाँसँगै टाँसिनुभयो । तपाईं उहाँकै मोर्चामा उभिनुभयो । म व्यक्तिगत रूपमा एकदमै सम्मान गर्छु । तर, राजनीतिक रूपमा र सैद्धान्तिक रूपमा आज म तपाईंसँग सहमत हुन सक्दिनँ ।’
प्रदेश सभाको ‘पोडियम’ मै उभिएर भनेझैँ पाण्डेले शाक्यलाई व्यक्तिगत रूपमा मान्छन् नै । आफूभन्दा ३ वर्ष जेठी शाक्यकोबारेमा पाण्डेले यसअघि पनि भनेका थिए, ‘उहाँ स्वच्छ छवि भएको व्यक्ति हुनुहुन्छ । कम्युनिष्ट आन्दोलनमा निकै महत्त्वपूर्ण योगदान गर्नुभएको मान्छे पनि हुनुहुन्छ । तर, आज उहाँ जुन कित्तामा उभिनुभयो त्यहाँ सहमत हुन सकिएन ।’
शाक्य पनि यो कुरालाई सामान्य रूपमा ग्रहण गर्छिन्, भन्छिन्— ‘राजनीतिक रूपमा हेर्दाखेरी यो सामान्य एउटा अवस्था हो । यस्तो हुन्छ र स्वाभाविक रूपमा लिनुपर्छ । राजनीतिक रूपमा कुनै पनि नेतासँग असहमति जनाउनु राजनीतिको सौन्दर्य पनि हो ।’
असन्तुष्टि
नेपालको राजनीतिक अवस्थाबारे शाक्य सन्तुष्ट छैनन् । भन्छिन्– ‘मैले जत्तिबेला पूर्णकालीन राजनीतिमा लाग्ने भनेर घरपरिवार त्यागेकी थिएँ । त्यसबेला मनमा समृद्ध नेपाल र सफल कम्युनिष्ट आन्दोलनमा मानचित्र कोरिएको थियो । योबीचमा हिँड्दैहिँड्दै जाँदाखेरी त्यो चित्रहरूबाट यात्रा गर्न सकिएन ।’
नेपाली राजनीतिमा व्यक्तिगत प्रवृत्ति हाबी हुँदा समस्या देखिएको विश्लेषण शाक्यको छ । ‘यो समस्या भनेको राजनीतिमा झल्कने व्यक्तिगत प्रवृत्ति नै हो,’ शाक्य भन्छिन्, ‘मलाई पद ठूलो लाग्दैन । यो पद भनेको त सिर्फ एउटा ‘सिजन’ हो । तर, त्यो पदमार्फत गरिने काम चाहिँ ठूलो काम हो । कम्युनिष्ट आन्दोलन, समृद्ध देश, सुखी नेपालीकै लागि भनेर हामीले जेलनेल भोग्यौँ । लड्यौँ र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनायौँ । तर, आज यही रूप देखियो ।’
राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनको लागि लडेको विगत सम्झिएर अहिलेको अवस्था हेर्दा कहीँकतै मेल नखाने अनुभव शाक्यको छ । भन्छिन्, ‘हिजो हामी केका लागि लड्यौँ । भिड्यौँ । ती उपलब्धीहरू नै धराशायी हुने दिशमा गयौँ । अब पुनः एकजुट हुनुको विकल्प छैन ।’