श्रीलंकालाई पराजित गर्दै अस्ट्रेलिया सेमिफाइनल नजिक

काठमाडौँ । टी-२० विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। युएईमा जारी टी-२० विश्वकपको २२ औँ खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर चम्किँदा अस्ट्रेलियाले श्रीलंकाविरुद्ध ७ विकेटको जित निकाल्यो।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। जवाफमा अस्ट्रेलियाले उक्त लक्ष्य ३ विकेट गुमाएर १८ बल बाँकी हुँदा नै पुरा गर्‍यो।

लगातार दोस्रो जितसँगै अस्ट्रेलियाको सेमिफाइनल सम्भावना बलियो बनेको छ। मध्यम स्कोर तयार गर्ने क्रममा श्रीलंकाका कुशल परेरा र चरिथ  असलन्काले  समान ३५-३५ रनको स्कोर बनाएका थिए।

त्यसबाहेक भानुका राजापक्षले ३३ रन बनाए भने थप दोहोरो रनको स्कोरका रूपमा डसुन सनाकाले १२ रन बनाएका थिए। अस्ट्रेलियाका लागि मिचेल स्टर्क, प्याट कमिन्स र एडम जाम्पाले समान २-२ विकेट लिएका थिए।

फिन्चले पुरा गरे ४०० टी-ट्वेन्टी छक्का

१५५ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको अस्ट्रेलियाले सानदार ओपनिङ गर्‍यो। ओपनर वार्नर र कप्तान फिन्चले पहिलो विकेटका लागि ४१ बलमा  ७० रनको साझेदारी गरे। ओपनर डेभिड वार्नरले ४२ बलमा ६५ रन बनाए।

वार्नरको यो १९ औ अर्धशतक हो। उनले श्रीलंका विरुद्ध पाँचौँ अर्धशतक प्रहार गरेका थिए। त्यस्तै कप्तान एरोन फिन्चले ५ चौका र २ छक्काको मध्यमा ३७ रन बनाए। फिन्च टी-२० फर्म्याटमा ४०० छक्का प्रहार गर्ने अस्ट्रेलियाको दोस्रो तथा विश्वका ८ औँ खेलाडी समेत बने।

त्यस्तै स्टिभ स्मिथ २८ रनमा अविजित रहँदा उनलाई मार्कुस स्टोइनिसले १६ रन बनाएर साथ दिए। श्रीलंकाका लागि वानिन्दु हसरङ्गा डि सिल्भाले दुई विकेट लिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *