रावललाई ओलीले भने- ‘तपाईंले नसकेपछि के गर्नु ?’

काठमाडौँ । शुक्रबार बसेको नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीमबहादुर रावलबीच भनाभन भएको छ । गत असार २७ गते आन्तरिक समस्या समाधानका लागि भन्दै बनेको १० बुँदे सहमतिको प्रस्तावका सन्दर्भमा असन्तुष्ट हुँदै आएका रावलले बैठकमा कुरा उठाएका थिए ।

त्यस बखत ओलीले रावललाई हस्तक्षेप गर्दै ‘तपाईंले सक्नुभएन, म के गर्न सक्छु ?’ भनेर प्रश्न गरेका थिए । यसअघि कार्यदलको संयोजकबाट रावलले राजीनामा दिएका थिए । यसकै सन्दर्भ जाेड्दै ओलीले थपे, ‘अब राजीनामा दिएपछि कार्यदल पनि सकियो, १० बुँदेको उपदेयता पनि सकियो । किन कार्यदल चाहियो । तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो ।’

माधवकुमार नेपाल समूहमा रहँदै आएका रावल पछिल्लो समय ओलीको कित्तामै पुगेका छन् । १० बुँदेमा टेकेर नेपालले एकीकृत समाजवादी बनाउँदा एमालेमै रहेका रावलले त्यसको कार्यान्वयन नभएको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

यसअघि पनि ओलीले रावलले नसकेर राजीनामा दिएको उल्लेख गर्दै भनेका थिए, ‘उहाँले सक्नुभएन, त्यो भएर राजीनामा दिनुभयो । अब यसको औचित्य नै सकियो ।’ रावलसँग पार्टी उपमहासचिव घनश्याम भुसालले समेत असन्तुष्ट जनाउँदै आएका छन् । उनीहरूले पार्टीमा १० बुँदे अक्षरशः कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *