आर्सनलको जित, लिभरपुल रोकियो
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले जित निकाल्दा लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा गाब्रियल र एमिली स्मिथ रोवले एक एक गोल गरेका थिए । आर्सनलले दुवै गोल पहिलो हाफमा गरेको थियो । पहिलो गोल खेलको पाँचौ मिनेटमा गाब्रियलले गरेका थिए भने दोस्रो गोल रोवले खेलको १८औँ मिनेटमा गरेका थिए ।
यो जितपछि आर्सनलको १० खेलमा १७ अङ्क भएको छ र अङ्क तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । त्यस्तै लेस्टर सिटीको १० खेलमा १४ अङ्क रहेको छ र लिगमा १०औँ स्थानमा झरेको छ ।
अर्को खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल घरेलु मैदानमा ब्राइटनसँग २–२ गोलको बराबरीमा रोकिएको छ । लिभरपुलले खेलको चौथो मिनेटमा जोर्डन हेण्डरसनले र खेलको २४औँ मिनेटमा साडियो मानेले गोल गर्दै २-० ले अगाडी रहेको अवस्थामा ब्राइटनले कमब्याक गर्दै खेल बराबरी गरेको थियो ।
ब्राइटनका लागि पहिलो गोल एनोक मेपूले खेलको ४१औँ मिनेटमा र लीनड्रो ट्रोसार्डले खेलको ६५औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।
यो बराबरीपछि लिभरपुलको १० खेलमा २२ अङ्क भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै ब्राइटनको यो बराबरीमा १० खेलमा १६ अङ्क रहेको छ र लिगमा छैटौँ स्थानमा रहेको छ ।