शहरको सकस (तस्बिरहरू)

काठमाडौँ । घना बस्ती र मानिसको बाक्लो उपस्थिति शहरको परिचय हो नै । भौतिक सुविधा, सुखसयल र धेरै अवसर प्राप्तिको आशाले पनि धेरै जनालाई शहरले तान्छ र आफूसँगै राख्छ ।

तर हुनुपर्ने जस्तो व्यवस्थापन हुन नसक्दा नेपालका धेरै शहर रहरका होइन‚ करका बनिरहेका छन् । शहरमा धेरै मानिस छन त छन्‚ तर उनीहरू खुसीमा कम‚ सकसमा ज्यादा छन् ।

नेपालको संघीय राजधानी शहरका रुपमा रहेको काठमाडौँ शहर र यहाँको भद्रगोल अवस्थालाई हेर्दा यहाँ बस्ने नागरिक कति सकसपूर्ण जीवनयापन गरिरहेका छन् भन्ने देखिन्छ ।

पानी नआउने धारा वा गन्हाउने नदी, सिटमा बसेर त के उभिनधरि सजिलोसँग नपाइने सार्वजनिक यातायातका साधन अनि सार्वजनिक शौचालय नभएर घरबाटै पानी कम खाएर निस्किनुपर्ने बिडम्बना नै किन नहोस् ।

जथाभावी राखिएका गाडी र मोटरसाइकल वा जताततै लत्रेका बिजुली र इन्टरनेट केबल अपरेटरका तार, सडकमै राखिएका निर्माण सामग्री हुन् वा फुटपाथका नाममा यात्रुलाई हिँड्नै नमिल्ने गरि बनाइएका संरचना कहिँकतैबाट पनि यो शहर रहरको शहर जस्तो देखिँदैन ।

घरको फोहोरको ढल नदीमा लगेर मिसाइएको छ भने सडकमै जोडेर बनाइएको घरको पार्किङ्ग सडकलाई बनाइएको छ । लाखौँ नागरिक ओहोरदोहोर गर्ने शहरमा उनीहरूले पैसा तिरेर पनि मलमूत्र विसर्जन गर्न पाउने ठाउँ पर्याप्त छैनन् ।

यस्ता धेरै कुराले शहरको जनजीवन सकसपूर्ण हुन पुगेको छ । शहरी विकासका जानकारहरू नेपालमा धेरैजसो शहरको विकास र विस्तार वैज्ञानिक रुपमा नभएको, दीर्घकालीन योजना नबनाइएको र जथाभावी संरचना निर्माण गरिएको भन्दै काठमाडौँ दिन प्रतिदिन कुरुप हुँदै गएको बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *