प्रदेश १ : नेपाली कांग्रेसका सांसद होटलमा

विराटनगर । नेपाली कांग्रेसले आफ्ना शंकास्पद सांसदलाई बिग होटलमा राखेको छ । नेकपा एमालेका मुख्यमन्त्री भीम आचार्यलाई मतदान गर्ने डरले कांग्रेसले शंकास्पद लागेका सांसदलाई विराटनगरको बिग होटलमा राखेको हो ।

आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएकाले आफ्ना सांसदको सुरक्षाका लागि बिग होटलमा राखेको स्रोतको दाबी छ । कात्तिक ७ गते विश्वासको मत लिने भनिए पनि नेपाली कांग्रेसले नै आन्तरिक कुरा नमिलेको भन्दै एक दिन सदन स्थगित गर्न भनेको थियो ।

फ्लोर क्रस गर्ने डरले कांग्रेसले सदन स्थगितको लागि निवेदन दिएको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेश १ को भ्रमण देखाउँदै स्थगन गर्न भनेको थियो । कांग्रेस स्रोतका अनुसार शंकास्पद सांसदहरूलाई सोमबारदेखि नै बिग होटलमा राखिएको हो ।

उनीहरूलाई त्यहिँबाटै संसद् भवन लैजाने तयारी कांग्रेसको छ । नेकपा एमालेका मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्ने वा शंकास्पद गतिविधि हुनसक्ने आशंका कांग्रेसले गरेको छ । नेपाली कांग्रेस संसदीय दलले भने संसदीय दलको बैठक बिहानैदेखि भएकाले टाढाबाट आउने सांसदको सजिलोका लागि होटलमा राखिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *