तिहारअघि राजेन्द्र राईको नेतृत्वमा सरकार बन्ने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामासँगै तिहारअघि नै प्रतिपक्ष दलहरूले सरकार बनाउने भएका छन् । प्रदेश १ सभाको बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री आचार्यले जनताको माग हुँदा हुँदै पनि प्रदेश सभामा अंकगणित नमिलेको भन्दै सोमबार राजीनामा दिएका थिए ।

आचार्यको राजीनामा सँगै विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा चर्चा भएका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले तिहारअगावै सरकार सानो मन्त्री मण्डलसहितको प्रदेश सरकार बन्ने बताए । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राईले राजीनामा पछि प्रदेश प्रमुखले आह्वान गर्नुहुने भएकाले त्यसैको आधारमा अघि बढ्ने उनले स्पष्ट पारे ।

‘५० जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखकोमा दाबी प्रस्तुत गर्छौँ,’ उनले भने, ‘तिहारअघि नै सानो आकारको प्रदेश सरकार गठन हुन्छ ।’ नेकपा एमालेको नेतृत्वको सरकार ढलेसँगै अब विपक्षी ५ दलले सरकार बनाउँदैछन् ।

प्रदेश १ मा नेकपा एसको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको संयुक्त सरकार बन्नेछ । नेपाली कांग्रेसले सरकारमा आधा आधा कार्यकाल मुख्यमन्त्री हुनुपर्ने दाबी प्रस्तुत गर्दै आएको भए पनि यो विषय केन्द्रीय गठबन्न्धनबाट निर्णय भएर आउनुपर्ने र त्यसैको आधारमा अघि बढ्ने मुख्यमन्त्रीको दाबी गर्दै आएका राईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *