ओलीले गणतन्त्र मन परेकै छैन भनेको सुनेँ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले ‘मलाई गणतन्त्र मनै पर्दैन, म गणतन्त्रवादी कहिल्यै थिइनँ’ भनेर भनेको आफूले सुनेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘गएका प्रधान मन्त्रीले म गणतन्त्रवादी कहिल्यै थिइनँ र गणतन्त्र मनै परेको छैन भनेर भनेको सुनेँ । ताल यस्तो छ । राजाका मान्छेहरूसँग यसो भनेको सुनेँ ।’

प्रचण्डले वर्तमान पाँचदलीय गठबन्धन भत्काउनका लागि विभिन्न कोणहरूबाट कसरत भइरहेको बताए । ‘गठबन्धन तोड्नका लागि विभिन्न षड्यन्त्रहरू भइरहेकै छन्,’ प्रचण्डले भने, ‘गठबन्धनमा को अलिक वैचारिक र राजनीतिक रूपमा कमजोर छ भनेर खोजिँदैछ । को चाहिँ निरङ्कुशवादी भेटिन्छन् कि भनेर खोजी भइरहेकै छ । तर, अहिलेसम्म केही भएको छैन र हुँदैन पनि ।’

प्रचण्डले कम्युनिष्ट मिलेपछि पनि केही गर्न नसकेकोप्रति आफूलाई दुःख लागेको बताए । ओलीप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘हिजो संघीयताको विरुद्धमा लाग्नेहरू सुध्रिए होलान् भनेकोमा आजसम्म पनि सुध्रिएका छैनन् । कम्युनिष्ट एकता भएर जनताले अनुमोदनसमेत गरिसकेको अवस्थामा पुनः फरक खाले स्थिति बन्यो । यसले देश, जनता, संविधान र संघीयतालाई चुनौती दियो ।’

यस्तै प्रचण्डले कम्युनिष्टहरूबाटै प्रतिकान्ति हुने गरेकाे बताए । ‘क्रान्तिपछिको प्रतिक्रान्ति कम्युनिष्टहरूले नै गर्छन्,’ प्रचण्डले भने, ‘यसले जनताको जित हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *