एमाले नेपाल बारजस्तो कुटाकुट गर्दैन : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमाले सबैभन्दा शक्तिशाली दल बन्ने दाबी गरेका छन् । सोमबार भरतपुर महानगर (एमाले) कमिटीको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘यो नारायणीलाई साउनमा कसैले रोक्न सक्छ ?,’ ओलीले प्रश्न गर्दै भने, ‘हो एमाले त्यस्तै हो । कसैले रोक्न सक्दैन । आउँदो चुनावमा हेर्नुस् । एमाले पहिलो शक्ति बन्छ ।’

यस्तै ओलीले एमाले आन्तरिक लोकतन्त्रमा अब्बल दल भएको दाबी गरे । भने— ‘नेकपा एमाले सबै तवरले दर्बिलो छ । आन्तरिक लोकतन्त्र एमालेमा छ । एमाले नेपाल बारजस्तो कुटाकुट गर्दैन । कुटाकुट गर्न एमाले नेपाल बार होइन ।’

ओलीले एमालेलाई असंवैधानिक तवरबाट सत्ताबाट हटाइएको दोहोर्‍याए । ‘एमालेलाई संवैधानिक तवरबाट त कुनै पार्टीले हटाउनै सक्दैन,’ ओलीले भने, ‘त्यसैले परमादेश, अध्यादेश यी यावत् असंवैधानिक तवरबाट हटाइयो ।’

एमालेले चाहे वर्तमान वठबन्धनको सरकार सात दिनमा ढाल्ने दोहोर्‍याउँदै ओलीले भने— ‘यो सरकार आफैँ ढलेपनि केही अचम्म मान्नु पर्दैन । एमालेले चाहे यो सरकार सात दिनमा ढल्छ । हामी संवैधानिक तवरबाट सरकारको नेतृत्व चाहन्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *