मन्त्री मनाङेको सम्पत्ति: ६ करोड ऋण, भैँसी फार्ममा ४० प्रतिशत शेयर
पोखरा । गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले मन्त्रीमा नियुक्त भएको करिब ५ महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रीहरूले नियुक्त भएको ६० दिनमा सम्पत्ति विवरण बुझाउनुपर्नेमा उनले ढिलो गरी बुझाएका हुन् । मनाङ क्षेत्र नम्बर (ख) बाट निर्वाचित उनले आफ्नो स्थायी ठेगाना भने काठमाडौँ उल्लेख गरेका छन् ।
मन्त्री मनाङेसँग सम्पत्तिभन्दा ऋण धेरै देखिएको छ । उनले आफूसँग २२ तोला सुन, ४५ तोला चाँदी र ८३ तोला मुगा रहेको उल्लेख गरेका छन् । मुगा पैत्रिक सम्पत्ति भनेका छन् भने सुन वैदेशिक रोजगारीबाट कमाएर किनेको उल्लेख गरेका छन् । उनले आफूसँग कुनै पनि सवारी साधन र घर नभएको उल्लेख गरेका छन् । मन्त्री मनाङेले भैँसी फार्ममा ४० प्रतिशत सेयर देखाएका छन् । संघर्ष गाई भैँसी फार्ममा अहिले २० वटा भैँसी र ५ वटा गाई रहेको भन्दै उक्त फार्ममा आफ्नो ४० प्रतिशत सेयर रहेको उल्लेख गरेका छन् ।
मनाङेले विभिन्न व्यक्ति र फर्मसँग लिएको ऋण विवरण बुझाएका छन् । कर्म गुरुङसँग ४० लाख, रमेश रानासँग ४० लाख, मनाङ फलफूल सप्लायर्ससँग ६० लाख, टीका भण्डारीसँग २ करोड ३५ लाख, टासी गुरुङसँग २ करोड ३५ लाख ऋण लिएको बताएका हुन् । सांसद भएपछि एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार तलबभत्ता जम्मा भएको उनको विवरणमा देखिएको छ । अन्य बैंक खाता भने उनले देखाएका छैनन् । उनले काठमाडौँमा विभिन्न व्यक्तिको जग्गा बैनापट्टा गरेको उल्लेख गरेका छन् ।
प्रकाश महर्जनको नाममा रहेको काठमाडौँ धर्मस्थलीमा १ रोपनी ९ आना, श्याम महर्जनको १२ आना, कृष्ण महर्जनको ४ आना उनले बैनापट्टा गरेको भनेका छन् । मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरी नगरपालिका- २ मा ३ रोपनी जग्गा रहेको र मकवानपुरको पदमपोखरीमा १ रोपनी ९ आना १० दाम जग्गा देखाएका छन् । केही जग्गा छोराको नाममा भनिएको छ । यस्तै, एक बुँदामा ६ कठ्ठा जग्गा देखाएका छन् । तर ठाउँ स्पष्ट रुपमा देखाइएको छैन ।
यसअघि पत्रकारहरूले सम्पत्ति विवरणबारे सोध्दा ‘केटाहरूसँग’ भएको प्रतिक्रिया दिएका थिए । पछि एउटा कार्यक्रममा आफ्नो सम्पत्ति छोराछोरी र श्रीमतिको नाममा दिएको उल्लेख गरेका थिए । उनी विसं. २०७० मा अकुत सम्पत्ति आर्जनको मुद्दामा छानविनमा परेर सफाइ पाएका व्यक्ति हुन् ।
कृषिमन्त्री चन्द्रबहादुर बुढाले पनि ढिलो गरी सम्पत्ति विवरण पेश गरेका छन् । उनले बागलुङको ताराखोलामा धनप्रसाद बुढाको नाममा रहेको घर र जग्गालाई सम्पत्तिको रुपमा उल्लेख गरेका छन् । उक्त घर र जग्गा सगोलमा रहेको भन्दै उनले पनि एभरेष्ट बैंकमा खाता रहेको देखाएका छन् ।
त्यहाँ कति पैसा छ वा छैन भन्नेबारे भने उल्लेख गरेका छैनन् । जनएकता सहकारीमा १० हजारको शेयर देखाएका छन् । त्यसबाहेक उनको ऋण-धन केही देखिएको छैन । अरु मन्त्रीहरूले यसअघि नै विवरण बुझाइसकेका छन् ।