कोरोना संक्रमणबाट विश्वभर ५० लाख भन्दा बढीको मृत्यु
पेरिस । कोरोना महामारीबाट विश्वभरमा ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट करिब दुई वर्षअघिबाट सुरु भएको यस प्रकोपको कारण विश्वभरि ५० लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले मंगलबार जानकारी दिएको छ ।
चालिस लाख व्यक्तिको मृत्यु दर्ता भएको करिब चार महिनापछि दिइएको जानकारीअनुसार कोरोना सङ्क्रमणको कारण मृत्यु भएका व्यक्तिको सङ्ख्या ५० लाख नाघेको हो ।
विश्वका अरबौँ मानिसहरूले कोरोनाविरुद्धको खोप लगाएकाले मृत्युदर दरमा केही कमी आएको छ । गत अक्टोबरको सुरुपछि करिब एक वर्षमा पहिलो पटक विश्वव्यापी रूपमा दैनिक मृत्युको सङ्ख्या ८ हजार भन्दा कम भएको छ ।
यद्यपि युरोपमा दुई महिनायता पहिलो पटक कोभिड–१९ का सङ्क्रमित र मृत्युको सङ्ख्या बढिरहेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गत बिहीबार जारी रहेको पत्रकार सम्मेलनमा बताएका छन् । रुसमा हाल सङ्क्रमण र मृत्यु नयाँ रेकर्ड कायम भएको छ ।
गत अक्टोबर २० देखि औसतमा दैनिक एक हजार भन्दा बढी भएको मृत्यु हुँदै आएको छ । रुसमा कोरोना सङ्क्रमणको कारण गत नोभेम्बर १ सम्ममा दुई लाख ३९ हजार ६९३ जनाको मृत्यु भइसकेको छ । रासस/एएफपी