भारतलाई अफगानिस्तानको डर

काठमाडौँ । भारतीय क्रिकेट टिम टी-ट्वेन्टी विश्वकपको समूह चरणबाट बाहिरिने संघारमा छ । खेल आबुधाबीमा नेपाली समयअनुसार बेलुका ७:४५ मा सुरु हुनेछ । लगातार दुई खेलमा पराजित भएको भारत बाँकी सबै खेलमा जित्नैपर्ने दबाबमा छ । सेमिफाइनल पुग्ने सपनामा रहेको अफगानस्तानका लागि पनि आजको खेल जित्नुपर्ने दबाब हुनेछ ।

भारतले आज तुलनात्मक रुपमा कम आँकिएको‚ तर प्रतियोगितामा अन्डर डगको छवि बनाएको अफगानिस्तानसँग फराकिलो जित आत्मसात् गर्न सकेमात्र सेमिफाइनलको आशा ब्युँतन सक्नेछ । पहिलो खेलमा पाकिस्तानसँग र अर्को खेलमा न्युजिल्यान्डसँग हारेपछि भारतीय र बाहिरका भारत समर्थकको आलोचनाको तारो बनेको छ भारतीय क्रिकेट टिम । तर भारतीय टिममा यसपटक खेलाडीको फर्म र तालमेल मिल्न सकेको छैन । यहि विश्वकपबाट कप्तानी त्याग्ने बताएका विराट कोहली, टिममा मेन्टरका रुपमा नयाँ भूमिका पाएका पूर्वकप्तान महेन्द्र सिंह धोनी, मुख्य प्रशिक्षक रवि शास्त्री सबै दबाबमा छन् ।

फेरि पनि टस निर्णायक
विराट कोहलीले दुवै खेलमा टस हारेका छन् । जसका कारण उनी खेल अगावै मानसिक दबाबमा पर्ने गरेका छन् । टस हार्नुको स्पष्ट मतलब ओसका कारण पहिले ब्याटिङ गर्ने टिमले २०-३० रन बढी बनाउनुपर्ने चुनौती छ । यसैकारण टस जितेका टिमले अहिलेसम्म तीनबाहेक सबै खेलमा फिल्डिङ रोजेका छन् । धेरै रन बनाउनुपर्ने दबाबका कारण यसअघिका दुई खेलमा भारत चाँडै विकेट गुमाउन बाध्य भएको आकलन पनि गरिएको छ । त्यसैले आज टस कसले जित्छ भन्ने कुराले पक्कै अर्थ राख्नेछ ।

यो विश्वकपमा आबुधाबीमा लक्ष्य पछ्याउने टीमले ८ मध्ये ६ खेलमा जित निकालेका छन् । यो खेलमा पनि टस जितेर पहिले फिल्डीङ गर्ने टीमलाई फाइदा हुन सक्छ।

रोहित र राहुलको फर्मकै चिन्ता
न्युजिल्यान्डसँगको खेलमा ओपनिङमा नआएका रोहित शर्मा पुनः ओपनिङमा फर्कन सक्नेछन् । यदि यस्तो भएमा केएल राहुलले चौथो नम्बरमा ब्याटिङ गर्नुपर्ने हुन सक्छ । सुर्यकुमार यादवको फिटनेसका बारेमा अहिलेसम्म कुनै अपडेट छैन । भारतका लागि रोहित र राहुलको फर्मको चिन्ता अर्को महत्त्वपूर्ण पाटो हो । जुन आज कस्तो हुन्छ भन्ने कुराले पनि खेल प्रभावित गर्नेछ । त्यसो त भारतका हार्दिक पान्ड्या पनि फर्ममा देखिएका छैनन् ।

भारतका लागि यी दुई समीकरण पुरा गर्नुपर्ने चुनौती
अहिले यस्तो समीकरण छ कि जुन पूरा भए भारत सेमिफाइनल पुग्न सक्नेछ । पहिलो अवस्था भनेको भारतीय टीमले अफगानिस्तानमाथि फराकिलो जित हात पार्नुपर्नेछ । अर्को भनेको अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गर्नुपर्ने छ । त्यसपछि पुन: भारतले आफ्ना अन्तिम दुई खेलमा पनि यस्तै जित निकाल्नुपर्नेछ । अफगानिस्तान र न्युजिल्यान्डको नेट रनरेट पछि पार्ने गरीको जित जरुरी छ । त्यसैले आज भारतलाई जितले मात्र पुग्दैन‚ फराकिलो जित आवश्यक छ ।

अफगानस्तानमा खासै छैन परिवर्तन
अफगानस्तानको टिममा खासै परिवर्तन हुने कुरा केही छैन । पाकिस्तानसँग खेलेको टिममा असगर अफगानले सन्यास लिएकाले उनको ठाउँमा हस्मतउल्लाह शाहिदी या उस्मान घनी हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *